परिवारभित्रको सम्बन्ध र द्वन्द्वको कथा ‘झिँगेदाउ-२’


काठमाडौं । ज्ञानेन्द्र देउजा निर्देशित कथानक चलचित्र ‘झिँगेदाउ २’को टिजर सार्वजनिक गरिएको छ । फिल्म निर्माण पक्षले बुधबार डिजिटल प्लेटफर्म ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत टिजर सार्वजनिक गरेको हो ।

टिजरले फिल्मको कथावस्तु, पात्रहरूको चरित्र र मुख्य द्वन्द्वलाई संक्षिप्त रूपमा प्रस्तुत गरेको छ । सुखी देखिएको एउटा परिवारमा दुई बुहारीबीच रुखको अंशवण्डाको विषयलाई लिएर विवाद सुरु भएपछि कथाले नयाँ मोड लिन्छ । टिजरले परिवारमा पुनः खुसी फर्किन्छ कि सम्पत्तिको विवादले सम्बन्धमा थप दरार ल्याउँछ भन्ने प्रश्न उठाएको छ ।

फिल्ममा केकी अधिकारी र आँचल शर्मा दुई बुहारीको भूमिकामा देखिएका छन् भने महेश त्रिपाठी र कुशल विष्टले दाजुभाइको भूमिका निर्वाह गरेका छन् । हिउँवाला गौतम आमाको भूमिकामा छिन् ।
फिल्ममा सरोज खनाल, बसुन्धरा भुसाल, चैत्यदेवी, संगम भण्डारी र विजय देउजालगायत कलाकारको अभिनय रहेको छ । ‘झिँगेदाउ २’ आगामी असोज २ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ ।