यो वाममार्ग र त्यो वामपन्थ !


डा. गोविन्दशरण उपाध्याय ।

विश्वमा दुईवटा  वाम छन् – भगवान् शिव द्वारा उपदेश भएको वाममार्ग र कार्लमार्क्सले निर्माण गरेको वाम पन्थ । मार्ग र पन्थको समान अर्थ हुन्छ । वाममार्ग मोक्ष प्राप्तिको लागि गरिने अध्यात्मिक साधनको विधि हो भने वामपन्थ एउटा हिंसावादी राजनैतिक आन्दोलनहरू जसले पूँजीपति र बुर्जुवाहरूको विनाश गरेर पूर्णसमानता (साम्यवाद) स्थापित गर्न चाहन्छ।

वाममार्ग वैदिक संस्कृतिमा विकसित भएको तान्त्रिक परम्परा हो | सनातन धर्मको एउटा विशेष सम्प्रदाय भएको नाताले यो पनि अनादि नै मानिन्छ । प्राचीनकालदेखि नै आगममा आधारित रहेर भगवान् शिवको भैरव स्वरूपलाई आदि गुरुको रूपमा स्वीकार गरिएको छ । महत्वपूर्ण कुरा के हो भने काठमान्डौ उपत्यकाका नेवार बौद्ध (बज्रयान)ले पनि तन्त्रसाधना गर्छन् र भैरवको आराधना गर्छन्।

नेपाल वाममार्ग (तान्त्रिक विधि) को उत्पति थलो हो भने मत्स्येन्द्रनाथ तन्त्रका आदिगुरू हुन् । साथै नेपाल शाक्त अर्थात् शक्ति (दुर्गा, काली, लक्ष्मी)को आराधना स्थल पनि हो। शाक्त परम्परामा पनि तन्त्रविधान छ तर शाक्त तान्त्रिकहरू वाममार्गको (मद्य, मांस, मत्स्य, मुद्रा र मैथुन) को पूर्णतया सात्विक व्याख्या गर्छन् । यसरी केही कौल वा वामाचार परम्परामा यी पदार्थ वा क्रियालाई बाह्य रूपमा प्रयोग गरिएको पाइन्छ । दक्षिणाचार तथा धेरै आन्तरिक तान्त्रिक व्याख्यामा भने यिनलाई प्रतीकात्मक, योगिक वा मानसिक अर्थमा ग्रहण गरिन्छ । उदाहरणतः मद्यलाई सहस्रारबाट प्रवाहित अमृत, मत्स्यलाई इडा–पिङ्गला नाडी, मांसलाई इन्द्रियसंयम र मैथुनलाई चेतना तथा शक्तिको आन्तरिक मिलनका रूपमा व्याख्या गरिन्छ। त्यसैले पञ्चमकारको अर्थ सबै परम्परामा एउटै छैन ।

वामपन्थको वैचारिक आगमन भने पुष्पलाल श्रेष्ठको नेतृत्वमा वि.सं. २००६ वैशाख १० नेपाल कम्युनिस्ट पार्टीको स्थापनासंगै आधिकारिक रुपमा वेलायती वामपन्थ नेपालमा भित्रिएको हो । हुन त नेपालमा वामपन्थी राजनैतिक विचारधाराको आगमन र विकास राजनैतिक रूपमा आर्थिक, सामाजिक तथा मानवीय समानता स्थापित गर्ने प्रयोजनका लागि भएको मानिन्छ तर आजको मितिमा उपर्युक्त उद्देश्यबाट विचलित भएर जातिवाद, क्षेत्रीयवाद, नश्लवाद र घृणावादमा रुपान्तरित भएको छ ।राजनैतिक रुपमा जनताले पूर्णविश्वास गरेर सत्ताको बागडोर दिंदा पनि वामपन्थीले आफ्नो राजनैतिक प्रतिबंद्धता कार्यान्वयन गर्न सकेनन् । यिनको धेरै समय आपसी कलह र विभाजनमा बित्यो।

मध्यकालमा वाममार्ग लोकप्रिय थियो होला भन्ने अनुमान गर्न सकिन्छ किनभने महाशैव अर्थात् कौल, कापालिक सम्प्रदायमा विकसित भएको भेटिन्छ । पछि, मद्य मांस, मत्स्य, मुद्रा तथा मैथुन क्रियाकलाप्हरू साधनमा जोडिएपछि सरल वाममार्ग उग्रवामपन्थमा रूपान्तरित भयो र सामाजिक तथा सांस्कृतिक रूपमा बहिस्करणमा पर्यो । यद्यपि मूलधारमा वाममार्गीहरू मद्य, मांस, मत्स्य, मुद्रा र मैथुनको अर्थ भौतिक नभई अध्यात्मिक भएको भन्ने जिकिर गरेका छन् ।

वाममार्गले आगम पद्धतिलाई अङ्गीकार गर्दै तान्त्रिक विधिबाट साधना गर्ने र मोक्ष प्राप्त गर्ने लक्ष लिएको छ। आजको मितिमा तन्त्रसाधनाका रूपमा वामाचार वैष्णव, शैव, शाक्तआदि सहित बौद्ध जैनआदिमा विभिन्न रूपमा साधनाको अंगका रूपमा स्थापित छन् ।

आयातित वामपन्थका विषयमा नेपालीहरूलाई बढी जानकारी छ भने नेपालमै आफ्नो जरोकिलो भएको र नेपालीको मौलिक पहिचान वाममार्गका विषयमा थोरै नेपालीहरूलाई जानकारी छ ।

वामपन्थ एउटा राजनैतिक आन्दोलन हो र पूर्णतया धर्म र अध्यात्मिकता विरोधी भौतिकवादी नास्तिकताको जगमा उभिएको छ | बाममार्गमा झैं वामपन्थका पनि अनेकौं सम्प्रदायहरू छन्। नेपालमा पनि वामपन्थीका करिवकरिव ४४ बटा संगठन छन् जसले कार्लमार्क्सको वामपन्थलाई स्वीकार गरे पनि त्यसको व्याख्याचाहीं आफ्नो अनुकुलताका लागि गरिरहेका छन्।

वामपन्थ  एउटा राजनैतिक आन्दोलन भए पनि विश्वका हरेक देशमा यसका अनेकौं स्वरूप हरूछन्। चिनिया वामपंथ- नेपाली वामपन्थी आदोलनसंग मिल्दैन । जसरी एकै बाइबल र कुरानको पुस्तक मान्ने इसाई वा मुस्लिमका फरक सम्प्रदायहरूले एकअर्कासंग शत्रुगत व्यबहार गर्छन्, त्यस्तै सम्बन्ध बामपन्थी आन्दोलनमा भेटिन्छ ।

वाममार्ग र वामपन्थको कै अर्थ भए पनि दूवै कुनै पनि अर्थमा समान छैनन् । वाममार्ग धार्मिक र आध्यात्मिक साधनाको लागि अभिनिर्मित अभियान हो भने वामपन्थ पूर्णतया राजनैतिक, सामाजिक तथा आर्थिक रुपान्तरणको आधुनिक आन्दोलन हो ।नेपालीहरूका लागि वाममार्ग आफ्नो जरोकिलोसंग जोडिएको सैद्धान्तिक साधना धारा हो भने वामपन्थ पूर्णतया आयातित र नेपालीको मौलिक इतिहाससंग ‘गोरू बेचेको पनि साइनो नभएको’ राजनैतिक प्रभाव हो ।

दूवै वाममार्गी वा वामपन्थी नै हुन् तर वाममार्गले व्यक्तिको चेतनाभित्र रहेको भय, घृणा, आसक्ति र पवित्र–अपवित्रको द्वैत अतिक्रमण गर्न खोज्छ। वामपन्थले समाजमा रहेको वर्गीय असमानता, शोषण र राजनीतिक विशेषाधिकार परिवर्तन गर्न खोज्छ । वामपंथले विश्वको हरेक कुनामा प्रभाव पारेको छ। कसैले वामपन्थी विचार धाराको राजनैतिक चिन्तनलाई स्वीकार गरे पनि नगरे पनि त्यसको प्रभावबाट जोगिन भने सक्दैन । वामपन्थका कारण विश्वमा धेरै ठूला परिवर्तन भएका छन् र यसै विचारका कारण करोडौं मान्छेहरूको हत्या भएको छ । वाममार्ग गतिशील छ तर वामपन्थ बैचारिक जडता र यथास्थितिवादसंग जकडिएको छ ।

यति भनेपछि नेपाली नागरिकक रुपमा अध्यात्ममा आधारित वाममार्ग रोज्ने कि राजनैतिक परिवर्तनका लागि हिंस्रकबाटोको विकल्प न देख्ने वामपन्थ -रोज्ने यो तपाईंको आफ्नो निजीपनमा भरपर्छ।

स्वस्त्यस्तु |