कम्युनिष्ट आन्दोलन कमजोर हुनुमा हामी आफैँ कारक हौँ


ऋषि कट्टेल ।

नेपालका प्रतिक्रियावादीहरु अचेल निकै ठूलो स्वरमा नेपालमा कम्युनिष्ट सकिए र अब कतै तुसमुस बाँकी छ भनेपनि निर्मुल पार्न पर्दछ भनेर चिच्याइरहेका छन् । यिनीहरुलाई यस्तो आँट आउनुको पछाडीको मुख्य कारण अरु कोही नभएर हामी आफैँ हौँ । संगठनात्मक रुपमा त हामी अहिले ४०,५०को संख्यामा पुग्यौँ होला यसको गणना नगरौ विचारको तहमा हामी कति संख्यामा छौँ ? यसको यकिन गर्न भने अब ढिलो नगरौँ र आआफ्नो वैचारिक केन्द्र निर्माणगर्न एकता वा मोर्चाको बाटोमा लागौँ ।

हाल देखिएका विभाजित तर संगठित भएका अर्थात् पार्टीनै बनाएका शक्तिहरुको गणना गर्दा ४ वैचारिक तहका देखिन्छन् ।
पहिलो, विसर्जनवादी अर्थात् संसदवादी । संसदलाईनै मुख्य गन्तव्य मान्ने र यसैवाट कथित समाजको मार्ग खोज्न सकिन्छ भन्नेहरु विसर्जनवादीहरु हुन् । यो प्रवृत्तिका मुख्य नायक एमाले र नेपाली कम्युनिष्ट पार्टी(नेकपा)हरु हुन् । यिनीहरु पनि आफूलाई कम्युनिष्टनै भनिरहन्छन् र सत्ताबाट मिल्किएपछि घुर्की र धम्की दिन र कम्युनिष्ट आन्दोलनलाई अझै भ्रमित गर्न वर्ग र वर्ग संघर्षको कुरा पनि गर्दछन् । यि शक्तिहरु अहिले मोर्चा र एकताको कुरा गरिरहेका छन् ।

दोस्राथरि छन् भगौडा विसर्जनवादीहरु, जो जीवनभरजसो कम्युनिष्ट आन्दोलनमा लागे, आफ्नो स्वार्थ सिद्ध गरे, प्रकारको व्यक्तित्व बनाए अनि अहिले सम्बन्धित पार्टीबाट खान नपाउने भएपछि अब कम्युनिष्ट पार्टी र आन्दोलन काम छैन भन्दै गैरकम्युनिष्ट पार्टी बनाएर हिँड्नेहरु भगौडा विसर्जनवादीहरु हुन् । यसको मुख्य नाइके बाबुराम भट्टराइ हुन् । अशोक राई, उपेन्द्र यादव, जनार्दन शर्मा, प्रभु साह जस्ताहरु यस प्रवृत्तिको प्रतिनिधि पात्रहरु हुन् र तिनले बनाएका दलहरु यो कोटीमा पर्दछन् ।

तेस्रो हो छदम् अवसरवाद, यो वैचारिक समूह भनेको रुपमा क्रान्तिकारी सारमा विसर्जनवाद । यसभित्र मसाल, माले, संयुक्त, नेमकिपा जस्ता कम्युनिष्ट पार्टीहरु पर्दछन् । चौथो हो क्रान्तिकारी कम्युनिष्टहरु, जो समन्तिी दलाल तथा नोकरशाही राज्य व्यवस्थालाई ध्वंश गरि जनताको जनवादी–समाजवादी) राज्यसत्ता स्थापित गर्न संघर्षरत छन् । अहिले नेपाल कम्युनिष्ट पार्टी, क्रान्तिकारी कम्युनिष्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी ,नेकपा वहुमत मोर्चागत रुपमै र माओवादीलगायत केही अरु पार्टीहरु पनि यो आन्दोलनमा क्रियाशील छन् ।

अहिले मोर्चा निर्माणको लहर चलेको छ । खासगरी यी विभिन्न शक्तिहरुबीच । यो राम्रो कुरा हो । माथिको विश्लेषणको आधारमा तीनवटा मोर्चा बन्नु उपयुक्त हुन्छ । १) विसर्जनवादी मोर्चा २) भगौडा विसर्जनवादी मोर्चा र ३) क्रान्तिकारी मोर्चा । छदम् अवसरवादको भने मोर्चा हुँदैन ऊ अवस्थाअनुसार क्रान्ति वा विसर्जन जतापनि लाग्न सक्दछ ।