काठमाडौं । अमेरिकाले नेपालसहित ५० देशका नागरिकका लागि लागू गरिएको भिसा बन्ड कार्यक्रमलाई स्थायी बनाउने निर्णय गरेको छ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार यो व्यवस्था सोमबारदेखि लागू हुनेछ । यसअघि २० अगस्ट २०२५ देखि १२ महिनाका लागि परीक्षण कार्यक्रमका रूपमा लागू गरिएको भिसा बन्ड योजनालाई अब स्थायी नियमका रूपमा कार्यान्वयन गर्न लागिएको हो। उक्त योजना अस्थायी व्यवसायिक तथा पर्यटक (बी/बी२) भिसा आवेदकमा लागू हुनेछ ।
नयाँ व्यवस्थाअनुसार बी१/बी२ भिसा आवेदन दिने निश्चित आवेदकले अमेरिका बसाइको अवधि पूरा गरी समयमै फर्किने सुनिश्चितताका लागि १० हजार, १५ हजार वा २० हजार अमेरिकी डलरसम्म बन्ड (धरौटी) बुझाउनुपर्ने हुन सक्छ। यसअघि पाइलट कार्यक्रमअन्तर्गत बन्ड रकम ५ हजारदेखि १५ हजार डलरसम्म थियो ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार कन्सुलर अधिकारीले सामान्यतया १५ हजार डलर बन्ड माग्नेछन्। तर यात्राको उद्देश्य, रोजगारी, आम्दानी तथा अन्य व्यक्तिगत अवस्थाका आधारमा कम वा बढी रकम निर्धारण गर्न सकिनेछ।
भिसाबाहकले स्वीकृत अवधिभित्र अमेरिका छाडेमा, भिसाको म्याद सकिनुअघि यात्रा नगरेमा वा अमेरिकी प्रवेश नाकामा प्रवेश अनुमति नपाएमा बन्ड रकम फिर्ता गरिनेछ।
यो व्यवस्था अफ्रिकाका विभिन्न देशसँगै दक्षिण एसियाका नेपाल, बंगलादेश र भुटानका नागरिकमा पनि लागू हुनेछ।
यसअघि जनवरीमा काठमाडौंस्थित अमेरिकी दूतावासले बी१/बी२ भिसाका लागि योग्य नेपाली आवेदकलाई आवश्यक परे अधिकतम १५ हजार डलरसम्म बन्ड बुझाउनुपर्ने जानकारी दिएको थियो। बन्ड आवश्यक भए÷नभएको जानकारी भिसा अन्तर्वार्ताका क्रममा दिइने र कन्सुलर अधिकारीको निर्देशन नआएसम्म कुनै पनि रकम नतिर्न दूतावासले आग्रह गरेको थियो।
अमेरिकी विदेश मन्त्रालयका अनुसार भिसा अवधि सकिएपछि पनि बस्ने (ओभरस्टे) दर उच्च भएका, सूचना आदान–प्रदान, परिचय प्रमाणीकरण, आपराधिक अभिलेख तथा यात्रा कागजातको सुरक्षा प्रणाली कमजोर रहेका देशका नागरिकका हकमा भिसा बन्ड लागू गर्न सकिने व्यवस्था गरिएको छ।

प्रतिक्रिया