नेपाल नेदरल्यान्ड्ससँग ५७ रनले पराजित


काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्स भ्रमणमा नेपाल अंकविहीन बनेको छ। बुधबार भएको आफ्नो अन्तिम खेलमा घरेलु टोली नेदरल्यान्ड्ससँग ५७ रनले पराजित भएपछि नेपालले भ्रमणभर कुनै अंक जोड्न सकेन ।

नेदरल्यान्ड्सले दिएको २२६ रनको लक्ष्य पछ्याएको नेपाल ४८ ओभरमा १६८ रनमा समेटियो । नेपालका लागि आसिफ शेखले सर्वाधिक ३८ रन बनाए। रोहित पौडेलले २६, करण केसीले २३ तथा ईशान पाण्डेले १६ रन जोडे। हेमन्त धामी १५ रनमा अविजित रहे। अन्य ब्याटरले उल्लेखनीय योगदान दिन सकेनन् ।

नेदरल्यान्ड्सका काइल क्लाइनले ३ विकेट लिए। लोगन भान बिक, रोलोफ भान डर मर्वे र जाक लायन–कासेले समान २–२ विकेट हात पारे भने आर्यन दत्तले १ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २२५ रन बनाएको थियो।