नयाँदिल्ली । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफ्नो ज्यान जोखिममा पर्न सक्ने, पक्राउ पर्ने वा जेल जानुपर्ने सम्भावना रहे पनि यही वर्षको डिसेम्बरसम्म स्वदेश फर्किने दृढ अडान व्यक्त गरेकी छन् ।
भारतमा निर्वासनमा रहँदै आएकी उनले आफूलाई बङ्गलादेश फर्किन जनताले निरन्तर आग्रह गरिरहेको बताएकी छन् ।
एएफपीसँग इमेलमार्फतको अन्तर्वार्तामा ७८ वर्षीया हसिनाले आफ्नो भविष्यबारे पूर्ण रूपमा जानकार रहेको उल्लेख गर्दै त्यसका बाबजुद मातृभूमि फर्किने निर्णयबाट पछि नहट्ने बताइन् ।
उनले आफ्नो ज्यान जान सक्ने, पक्राउ पर्न सक्ने वा जेल सजाय भोग्नुपर्ने अवस्था आउन सक्ने भए पनि त्यसका लागि आफू तयार रहेको धारणा व्यक्त गरिन् ।
विद्यार्थी नेतृत्वको आन्दोलनका कारण सन् २०२४ को अगस्टमा उनको १५ वर्ष लामो शासन अन्त्य भएपछि भीडले प्रधानमन्त्री निवास घेरेको थियो । त्यसपछि उनी हेलिकोप्टरमार्फत भारत आएकी थिइन् ।
संयुक्त राष्ट्रसङ्घका अनुसार आन्दोलन दबाउन गरिएको सरकारी कारबाहीमा करिब एक हजार चार सय जनाको मृत्यु भएको थियो ।
गत नोभेम्बरमा ढाकास्थित एक अदालतले मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दामा हसिनालाई दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको थियो । हसिनाले उक्त निर्णयलाई कानुनको आवरणमा गरिएको राजनीतिक प्रतिशोधको संज्ञा दिएकी छन् ।
भारतमा गोप्य स्थानमा बसोबास गरिरहेकी हसिनाले आफूलाई स्वदेश फर्किन कुनै बाह्य दबाब नभएको बताइन् । उनका अनुसार ढाकाले भारतसँग आफ्नो सुपुर्दगी माग गरे पनि आफ्नो स्वदेश फर्कने निर्णय त्यससँग सम्बन्धित नभएको उनको भनाइ छ ।
हसिनाको बहिर्गमनपछि बनेको अन्तरिम प्रशासनका कारण केही समय चिसिएको भारत–बङ्गलादेश सम्बन्ध फेब्रुअरीमा तारिक रहमान प्रधानमन्त्री बनेपछि क्रमशः स्थिर हुँदै गएको बताइएको छ ।
मानवअधिकार सङ्गठनहरूले हसिनाको शासनकालमा विपक्षीमाथि दमन, गैरन्यायिक हत्या, राजनीतिक हस्तक्षेप तथा विवादास्पद निर्वाचन गराएको आरोप लगाउँदै आएका छन् ।
तर हसिनाले ती आरोपलाई राजनीतिक उद्देश्यले सिर्जना गरिएको अभियानको संज्ञा दिँदै प्रत्येक आरोपपछि अनुसन्धान गरिएको र दोषीमाथि कानूनी कारबाही भएको दाबी गरेकी छन् । उनले विद्यार्थी आन्दोलन दमनका क्रममा अत्यधिक बल प्रयोग गरिएको आरोप पनि अस्वीकार गरिन् ।

प्रतिक्रिया