असली र पाखण्डी !


डा. गोविन्दशरण उपाध्याय

वैदिक सनातन परम्परामा सत्यको अन्तिम आधार व्यक्तिगत कल्पना, लोकप्रिय वक्तृत्व वा कुनै व्यक्तिको आत्मघोषित अनुभूति होइन । वेद, उपनिषद्, भगवद्गीता, ब्रह्मसूत्र तथा तिनमा आधारित प्रमाणिक आचार्यपरम्परा नै यसको मूल आधार हुन् । सनातनी दृष्टिले वेद अपौरुषेय छन्, उपनिषद्हरू शाश्वत तत्त्वज्ञानका दिग्दर्शक हुन् र प्रस्थानत्रयी मोक्षमार्गको दार्शनिक मेरुदण्ड हो । त्यसैले जसले आफूलाई सनातन धर्मको व्याख्याता, गुरु वा अध्यात्मिक मार्गदर्शकका रूपमा प्रस्तुत गर्छ, उसले सर्वप्रथम शास्त्रप्रति विनम्रता, श्रद्धा र निष्ठा देखाउनुपर्छ । आफ्नो मतलाई शास्त्रभन्दा माथि राख्ने, शास्त्रलाई केवल प्रचारको सामग्री बनाउने र अन्ततः आफ्नै विचारलाई अन्तिम सत्य घोषणा गर्ने व्यक्ति गुरु होइन । ऊ अध्यात्मको आवरणमा उभिएको पाखण्डी हो ।

आज यस्तै आत्मघोषित गुरुहरूको विस्तार भएको देखिन्छ । र अचम्मको कुरा के भने यस्ता पाखण्डीहरूमा विश्वास गर्नेको जमात पनि बढ्दो छ । उनीहरूले सनातन धर्मको भाषा बोल्छन्,वेदको कुरा गर्छन्, ब्रह्मको उद्द्धरण दिन्छन्, श्रीकृष्णको नाम लिन्छन्, गीताका श्लोक उद्धृत गर्छन्, योग, ध्यान, वेदान्त र आत्मज्ञानका आकर्षक शब्द प्रयोग गर्छन्त र भित्रभित्रै वेदको प्रमाणिकता, ऋषिपरम्पराको ऐतिहासिकता, भगवान् श्रीकृष्णको दिव्यता र उपनिषद्हरूको शाश्वत सन्देशलाई अस्वीकार गर्छन् । उनीहरूको भाषण सुन्दा श्रोतालाई उनीहरू धर्मका रक्षक जस्ता लाग्छन्, तर उनीहरूको सिद्धान्त परीक्षण गर्दा थाहा हुन्छ कि उनीहरू शास्त्रको सेवा गरिरहेका छैनन् अपितु शास्त्रहरूलाई आफ्नो मतको सेवक बनाइरहेका छन् । आफ्ना विचारको साँघु बनिरहेका छन् । यहीँबाट सत्य र पाखण्डबीचको भिन्नता स्पष्ट हुन्छ ।

कतिपय नक्कली गुरुहरू भन्छन् – गीता महान् ग्रन्थ हो, तर श्रीकृष्ण ऐतिहासिक वा दिव्य सत्ता होइनन् । उनी केवल लेखकले निर्माण गरेको प्रतीक हुन् । उनीहरू भागवतका कथा प्रयोग गर्छन्, तर भगवान्, अवतार, भक्ति र लीलालाई मिथक मात्र ठान्छन् । उनीहरू वेदका मन्त्र उद्धृत गर्छन्, तर मन्त्रद्रष्टा ऋषिहरूको अस्तित्वमाथि संशय उत्पन्न गर्छन् । उपनिषद्को आत्मा, ब्रह्म, मोक्ष र पुनर्जन्मको भाषा प्रयोग गर्छन्, तर त्यसको आध्यात्मिक तत्त्वलाई मनोवैज्ञानिक रूपकमा सीमित गरिदिन्छन् । यसरी उनीहरू शास्त्रको शब्द राख्छन्, तर अर्थ परिवर्तन गर्छन् । आफ्नो मतअनुकुल हुने गरी प्रयोग गर्छन् । परम्पराको प्रतीक राख्छन्, तर आत्मा निकालिदिन्छन् । धर्मको छाता ओढ्छन्, तर भित्र आफ्नै निजी सम्प्रदाय निर्माण गर्छन् र शास्त्रहरूलाई आफ्ना पूर्वाग्रहको छाता ओढाएर अपमान गर्छन् । यी कुटीलहरूको बाकचातुर्यमा फंसेको व्यक्तिले शास्त्र र शास्त्रीय परम्पराको अपमानलाई बुझ्दैन वा आर्थिक प्रलोभन वा अन्य कारणले प्रतिकार गर्न सक्दैन ।

यो प्रवृत्ति सामान्य भ्रम मात्र होइन, सुनियोजित बौद्धिक छल हो । आधुनिक, शिक्षित र अंग्रेजी भाषासँग परिचित मानिसहरूलाई प्रभावित गर्न यस्ता गुरुहरूले जटिल शब्दावली, विदेशी मनोविज्ञान, क्वान्टम विज्ञान, न्युरोसाइन्स, चेतना, ऊर्जा, कम्पन, ब्रह्माण्डीय तरङ्ग र आत्मविकासजस्ता शब्दहरूको असन्तुलित मिश्रण प्रयोग गर्छन् । श्रोताले वैज्ञानिक शब्द सुनेपछि कुरा प्रमाणित भएको ठान्छ । संस्कृत श्लोक सुनेपछि परम्परागत सत्य भएको विश्वास गर्छ । सत्य के पनि हो भने यस्ता धेरैजसो पाखण्डीहरूलाई संस्कृतको अल्पज्ञान हुन्छ र उच्चारण समेत शुद्ध हुँदैन । तर यी सबैको बीचमा गुरुको व्यक्तिगत निष्कर्ष चुपचाप अन्तिम सत्यका रूपमा स्थापित गरिन्छ । यही शब्दजाल पाखण्डको सबैभन्दा प्रभावकारी हतियार हो।

शास्त्रको ज्ञान नभएको, अल्पज्ञान भएको वा आध्यात्मिक जिज्ञासाले बेचैन भएको व्यक्तिलाई यस्तो भाषण अत्यन्त आकर्षक लाग्न सक्छ । ऊ सोच्न थाल्छ – यो गुरुले पुरानो धर्मलाई आधुनिक विज्ञानले प्रमाणित गरिरहेको छ । यसले परम्परालाई नयाँ अर्थ दिइरहेको छ । यसले जटिल शास्त्रलाई सरल बनाएको छ । तर सरलताको नाममा शास्त्रको विकृति भइरहेको छ कि छैन भन्ने परीक्षण गर्न ऊ सक्षम हुँदैन । यही कमजोरीको फाइदा उठाएर पाखण्डी गुरूले पहिले विश्वास प्राप्त गर्छ, त्यसपछि आलोचनात्मक बुद्धि निष्क्रिय बनाउँछ, अन्ततः अनुयायीलाई आफ्नो व्यक्तित्वमा आश्रित बनाउँछ । यो अध्यात्मिक शिक्षा होइन । क्रमिक मानसिक अधीनता हो र ब्लाकमेलिंग हो ।

एक पटक अनुयायी गुरुको प्रभावमा परिसकेपछि उसको विचारक्षेत्र सीमित हुँदै जान्छ । उसलाई अन्य आचार्यहरूको ग्रन्थ नपढ्न, परम्परागत पण्डितलाई अन्धविश्वासी ठान्न, शास्त्रार्थलाई अनावश्यक मान्न र गुरुका कथनलाई अनुभवजन्य सत्य स्वीकार गर्न प्रेरित गरिन्छ । क्रमशः अनुयायी यस्तो अवस्थामा पुग्छ, जहाँ उसलाई वेदभन्दा गुरुको प्रवचन प्रमाणिक, उपनिषद्भन्दा पाखण्डी गुरुको व्याख्या गहिरो र श्रीकृष्णभन्दा गुरुको व्यक्तित्व निकट लाग्न थाल्छ । गुरुले प्रत्यक्ष रूपमा “म भगवान् हुँ” नभने पनि अनुयायीको चेतनामा आफूलाई शास्त्रभन्दा माथि स्थापना गरिसकेको हुन्छ ।

यस्ता गुरुहरूको प्रमुख चासो प्रायः अनुयायीको आध्यात्मिक मुक्तिभन्दा संगठन, सम्पत्ति, प्रचार, दान, प्रतिष्ठा र प्रभावमा केन्द्रित हुन्छ । विशाल आश्रम, महँगा कार्यक्रम, विशिष्ट सदस्यता, विदेशी भ्रमण, विशेष दीक्षा, गोप्य साधना, शुल्कयुक्त ध्यानशिविर र चमत्कारी उपचारका नाममा अध्यात्मलाई बजारमा रूपान्तरण गरिन्छ । जहाँ गुरुको जीवन विलासितापूर्ण हुन्छ, तर अनुयायीलाई त्याग सिकाइन्छ । जहाँ संस्थाले करोडौँ संकलन गर्छ, तर प्रश्न गर्ने अनुयायीलाई अधार्मिक भनिन्छ । जहाँ गुरुको आलोचना पाप र गुरुको प्रशंसा साधना मानिन्छ, त्यहाँ धर्म होइन, व्यक्तिपूजाको साम्राज्य निर्माण भइरहेको हुन्छ ।

विचार गर्नुपर्ने प्रश्न सरल छ – यदि कसैले गीता सत्य हो तर श्रीकृष्ण काल्पनिक हुन् भन्छ भने उसले गीता कसको वचनका रूपमा स्वीकारेको हो ? यदि श्रीकृष्ण केवल साहित्यिक पात्र हुन् भने गीताको दार्शनिक प्रामाणिकता निर्धारण गर्ने आधार के हो ? यदि वेद सत्य हुन् तर ऋषिहरू काल्पनिक हुन् भने मन्त्रदर्शनको परम्परा कसरी बुझ्ने ? यदि उपनिषद् केवल प्रतीकात्मक साहित्य हुन् भने तिनका साधना, श्रवण, मनन र निदिध्यासनको अर्थ के रहन्छ ? यस्ता प्रश्न उठाउँदा पाखण्डी गुरु प्रायः स्पष्ट उत्तर दिँदैनन् । ऊ नयाँ शब्द, रूपक र भावनात्मक भाषणद्वारा प्रश्नलाई टार्छ ।

शास्त्रज्ञ सन्त वा प्रमाणिक पण्डितले शास्त्रलाई आफ्नो प्रसिद्धिको साधन बनाउँदैनन् । सन्त आफूलाई शास्त्रको निर्माता होइन, सेवक ठान्छ । ऊ ‘मेरो विचार’ भन्दा ‘शास्त्रको निर्देश’ लाई महत्त्व दिन्छ । रोगीलाई चिकित्सकले स्वादअनुसार होइन, रोगअनुसार औषधि दिएझैँ सत्य शिक्षकले साधकलाई मनपर्ने कुरा मात्र होइन, आवश्यक सत्य बताउँछ । त्यो सत्य कहिलेकाहीँ कठोर, असुविधाजनक र आत्मसंयम माग्ने हुन सक्छ । तर मुक्तिको मार्ग सधैँ इच्छापूर्तिको बजार हुँदैन ।

प्रमाणिक गुरु शास्त्रका नियमलाई बदल्ने दम्भ गर्दैन । ऊ देश, काल र पात्रअनुसार व्याख्या गर्न सक्छ, तर मूल सिद्धान्तलाई विकृत गर्दैन । उदाहरणका लागि अहिंसा, सत्य, अस्तेय, ब्रह्मचर्य, अपरिग्रह, इन्द्रियनिग्रह, यज्ञ, दान, तप, स्वाध्याय, ईश्वरप्रणिधान, भक्ति र निष्काम कर्मलाई पुराना शब्द भनेर फाल्दैन । बरु तिनको आधुनिक जीवनमा अर्थपूर्ण प्रयोग देखाउँछ । उसले शास्त्रलाई समयोचित बनाउने नाममा आत्मा हटाउँदैन अपितु समयको भाषामा शाश्वत सत्य प्रकट गर्छ।

पाखण्डीले भने शास्त्रको काँध चढेर मनमौजी सिद्धान्त निर्माण गर्छ । पहिले ऊ प्रसिद्ध ग्रन्थको प्रतिष्ठा उधारो लिन्छ, त्यसपछि त्यसको अर्थ आफ्नो अनुकूल बनाउँछ, अन्ततः अनुयायीलाई शास्त्र होइन, आफ्नै व्याख्या पढाउँछ । यस्तो गुरुको प्रत्येक निष्कर्ष अन्ततः उसकै महिमा, संस्थाको विस्तार र अनुयायीको अधीनतामा पुगेर टुंगिन्छ । शास्त्रले ईश्वरतर्फ लैजान्छ । पाखण्डीले आफ्नो सिद्धान्त पूजातिर। शास्त्रले अहङ्कार घटाउँछ । पाखण्डीले गुरुको अहङ्कार बढाउँछ । शास्त्रले साधकलाई आत्मनिर्भर बनाउँछ तर पाखण्डीले मानसिक दास बनाउँछ । आज आध्यात्मिक क्षेत्रमा मानसिक दासहरूको घुइँचो छ ।

ठूलो पेट, ठूलो दाह्री, आकर्षक पोशाक, मधुर आवाज, प्रभावशाली तर्क, लाखौँ अनुयायी, विश्वभरि आश्रम, सामाजिक सञ्जालमा करोडौँ दर्शक र राजनीतिक पहुँच अध्यात्मिक प्रामाणिकताका प्रमाण होइनन् । बजारमा लोकप्रिय हुनु र सत्यमा प्रतिष्ठित हुनु दुई भिन्न कुरा हुन् । इतिहासमा सत्य बोल्ने सन्तहरू प्रायः अल्पसंख्यक थिए, तर पाखण्डीहरू भीडका मालिक बने । त्यसैले गुरुको मूल्यांकन बाह्य वैभवबाट होइन, जीवनको सादगी, शास्त्रनिष्ठा, इन्द्रियनिग्रह, त्याग, विनय, पारदर्शिता, करुणा र आचरणबाट गर्नुपर्छ । जो आफूलाई निरन्तर केन्द्रमा राख्छ, ऊ साधकलाई ईश्वरसम्म होइन, आफ्नै छायासम्म पुर्‍याउँछ । शास्त्रले भन्छ बाचालहरू पाखण्डी हुन्छन् गुरू होइन ।

आज विशेष गरी आफूलाई आधुनिक, वैज्ञानिक र तर्कशील ठान्ने पुस्ता यस्ता गुरुहरूको सजिलो शिकार बनिरहेको छ । परम्परागत गुरु, मठ, मन्दिर, संस्कृत भाषा र शास्त्रीय अनुशासनप्रति पूर्वाग्रह राख्ने तर अंग्रेजीमा बोल्ने, विज्ञानका शब्द प्रयोग गर्ने र ध्यानलाई सफलता, धन, ऊर्जा तथा व्यक्तित्वविकाससँग जोड्ने गुरुमा तुरुन्त विश्वास गर्ने प्रवृत्ति बढेको छ । जो व्यक्ति परम्परालाई प्रमाण माग्छ, उसले आधुनिक वेशभूषामा आएको पाखण्डलाई किन प्रश्न गर्दैन ? जो वेदलाई अन्धविश्वास भन्छ, ऊ प्रमाणविहीन ‘ऊर्जा उपचार’ लाई विज्ञान किन मान्छ ?

तर्क आवश्यक छ, तर तर्क स्वयं अन्तिम प्रमाण होइन । अधिवक्ताले अपराधीको पक्षमा बलियो तर्क दिन सक्छ । विज्ञापनले हानिकारक वस्तुलाई उपयोगी देखाउन सक्छ । राजनीतिज्ञले असफलतालाई उपलब्धि प्रमाणित गर्न सक्छ । त्यसैले वक्तृत्वको चमकलाई सत्यको प्रकाश ठान्नु भूल हो । शास्त्रीय परम्परामा प्रत्यक्ष, अनुमान, शब्द, उपमान, अर्थापत्ति र अनुपलब्धि जस्ता प्रमाणमाथि विस्तृत विचार गरिएको छ । गुरुको व्यक्तिगत अनुभूति सबैका लागि स्वतः सार्वभौम प्रमाण हुँदैन । उसले बोलेको कुरा शास्त्र, युक्ति, सदाचार र अनुभवी आचार्यपरम्परासँग मिल्नुपर्छ ।

‘शास्त्र समयोचित हुनुपर्छ’ भन्ने वाक्य पनि सावधानीपूर्वक बुझ्नुपर्छ । निश्चय नै सामाजिक व्यवहार, शिक्षण विधि, भाषा, संस्थागत संरचना र प्रस्तुतीकरण समयअनुसार बदलिन सक्छन् । तर सत्य, धर्म, कर्मफल, आत्मा, ईश्वर, मोक्ष, साधना र नैतिक अनुशासनका मूल तत्त्वलाई मनपरी परिवर्तन गर्न सकिँदैन । औषधिको प्याकेट आधुनिक हुन सक्छ, तर औषधिको गुण नष्ट गरेर रंगीन पानी दिनु उपचार होइन । त्यसैगरी शास्त्रको भाषा नयाँ हुन सक्छ, तर तत्त्व हटाएर केवल प्रेरणादायी भाषण दिनु अध्यात्म होइन।

सनातन धर्मले अन्धविश्वास होइन, विवेकपूर्ण श्रद्धा सिकाउँछ । श्रद्धा भनेको प्रश्न नगर्नु होइन । सही स्रोत, प्रमाणिक गुरु र शास्त्रीय विधिबाट प्रश्नको समाधान खोज्नु हो । नचिकेताले प्रश्न गरे, अर्जुनले प्रश्न गरे, गार्गीले प्रश्न गरिन्, याज्ञवल्क्यले संवाद गरे, शंकराचार्यले शास्त्रार्थ गरे । तर उनीहरूले सत्य खोज्दा परम्पराको आधार नष्ट गरेनन् । आजको साधकले पनि प्रश्न गर्नुपर्छ – गुरुको शिक्षा कुन शास्त्रमा आधारित छ? उनको जीवन शिक्षासँग मेल खान्छ कि खान्दैन? आर्थिक व्यवस्था पारदर्शी छ कि छैन? आलोचना सहने क्षमता छ कि छैन? उसले आफूलाई केन्द्र बनाउँछ कि ईश्वर र शास्त्रलाई?

यदि कुनै गुरुले श्रीकृष्णलाई हटाएर गीता बेच्न खोज्छ, ऋषिलाई हटाएर वेद व्याख्या गर्छ, ईश्वरलाई हटाएर अध्यात्म सिकाउँछ, मोक्षलाई हटाएर केवल सफलता बेच्दछ र त्यागलाई हटाएर विलासिताको साम्राज्य बनाउँछ भने सावधान हुनुपर्छ । यस्तो व्यक्तिसँग दूरी कायम गर्नु घृणा होइन, आत्मरक्षा हो । गलत औषधिबाट बच्नु चिकित्साविरोधी हुनु होइन । नक्कली गुरुबाट बच्नु अध्यात्मविरोधी हुनु होइन । बरु सत्य धर्मप्रतिको निष्ठाले नै पाखण्डबाट दूरी माग्छ । सङ्गतले चेतना बनाउँछ । त्यसैले कुसङ्ग त्याग्नु साधनाको पहिलो सुरक्षा हो ।

राजमार्गमा लेखिएको चेतावनी-‘सावधानी हट्यो, दुर्घटना घट्यो’-अध्यात्मिक यात्रामा झन् सान्दर्भिक छ । यहाँ दुर्घटना शरीरको मात्र हुँदैन अपितु विवेक, श्रद्धा, समय, धन, परिवार र जीवनदृष्टिको पनि हुन सक्छ । गलत गुरुको प्रभावले मानिस आफ्नो परम्परासँग घृणा गर्न, परिवारबाट टाढिन, आर्थिक शोषण सहन, मानसिक स्वतन्त्रता गुमाउन र सत्य मार्गबाट विमुख हुन सक्छ । त्यसैले भावुकता, भीड, चमत्कार, प्रचार र वक्तृत्वको प्रभावमा गुरु चयन गर्नु हुँदैन । शास्त्र, आचरण, परम्परा र विवेकको संयुक्त परीक्षाबाट मात्र विश्वास गर्नुपर्छ ।

वास्तवमा मोडर्न पुस्ताले सधैँ सम्झनुपर्ने सत्य यही हो – शास्त्र गुरुको सेवक होइन अपितु गुरु शास्त्रको सेवक हो । श्रीकृष्णलाई हटाएर गीता बुझिँदैन, ऋषिपरम्परालाई अस्वीकार गरेर वेदको आत्मा ग्रहण हुँदैन, ईश्वरलाई नकारेर सनातन अध्यात्मको पूर्णता प्राप्त हुँदैन । पाखण्डीको तार्किक वचनले हाम्रो बुद्धिलाई क्षणिक सान्त्वना दिन सक्छ, आधुनिकताको अहङ्कारलाई तुष्ट पार्न सक्छ र जीवनका कठिन प्रश्नबाट अस्थायी राहत दिन सक्छ तर त्यसले मोक्षको मार्ग खोल्दैन । असत्यले सत्य स्थापित हुनैसक्दैन । सत्य मार्ग प्रायः विनय, अनुशासन, त्याग, श्रद्धा र दीर्घ साधना माग्छ।

त्यसैले आकर्षक अनुहारभन्दा आचरण हेरौँ, भाषणभन्दा शास्त्रनिष्ठा जाँचौँ, भीडभन्दा सत्यको पक्ष रोजौँ र व्यक्तिपूजाभन्दा ईश्वरभक्ति स्वीकार गरौँ। जसले शास्त्रभन्दा आफूलाई ठूलो देखाउँछ, उसबाट टाढा बसौँ । जसले वेद, उपनिषद्, गीता, श्रीकृष्णको बुई चढेर आफ्नो व्यक्तित्वलाई वास्तविक केन्द्र बनाउँछ, उसको संगत त्यागौँ । त्यो पाखण्डी हो | पाखण्डको परिणाम नर्क हो । ऋषिहरूलाई काल्पनिक भन्छ तर आफूलाई अनुभूत सत्यको एकमात्र प्रवक्ता ठान्छ, उसको दम्भ चिन्न सिकौँ । सत्य कठोर हुन सक्छ, तर मुक्तिदायी हुन्छ र पाखण्ड मधुर हुन सक्छ, तर अन्ततः बन्धनकारी हुन्छ । सनातन धर्मको रक्षा नाराले होइन, शास्त्रनिष्ठ विवेक, शुद्ध आचरण र प्रमाणिक गुरुको सङ्गत तथा शास्त्रको ज्ञानमा निर्भर हुन्छ । तेसैले शास्त्रको अभ्यास गरौँ । शास्त्रको अध्ययनमा अल्छी नगरौं ।