काठमाडौँ । स्याकार कम्पनी प्रालिले ग्राण्डी इन्टरनेशनल अस्पताललाई दिएको अल्पकालीन सापटीलाई ‘मिटर ब्याज’सँग जोडेर भइरहेका प्रचारप्रति आपत्ति जनाएको छ । कम्पनीले यस्ता समाचार र सामाजिक सञ्जालमा आएका अभिव्यक्ति तथ्यहीन, भ्रामक तथा दुर्भावनापूर्ण रहेको दाबी गरेको छ।
शनिबार जारी विज्ञप्तिमा स्याकारले करिब १३ वर्षअघि निर्माणाधीन अवस्थामा रहेको ग्राण्डी अस्पताल गम्भीर वित्तीय संकटमा परेपछि अस्पतालको निर्माण कार्य अवरुद्ध हुन नदिन ज्योति समूहअन्तर्गतका केही कम्पनीहरूले अल्पकालीन सापटी उपलब्ध गराएको जनाएको छ। ज्योति समूह अस्पतालको २५ प्रतिशत शेयरधनी भएकाले आफ्नो लगानी सुरक्षित गर्न उक्त सहयोग गरिएको कम्पनीको भनाइ छ।
कम्पनीले आफू बैंकिङ वा ऋण प्रवाह गर्ने व्यवसायमा संलग्न नरहेको उल्लेख गर्दै उक्त सापटी व्यवसायिक ऋण नभई अस्पताललाई कठिन परिस्थितिबाट उकास्न दिइएको अस्थायी वित्तीय सहयोग भएको स्पष्ट पारेको छ ।
विज्ञप्तिअनुसार सापटीमा वार्षिक १२.५ प्रतिशत ब्याजदर तय गरिएको थियो, जुन त्यतिबेला अस्पतालले वाणिज्य बैंकबाट लिइरहेको करिब ११.५ प्रतिशत ब्याजदरभन्दा एक प्रतिशत मात्र बढी थियो। कम्पनीले करसम्बन्धी कानुनी व्यवस्था पालना गर्न उक्त ब्याजदर कायम गरिएको दाबी गरेको छ।
स्याकारका अनुसार नौ महिनाभित्र सापटी फिर्ता गर्ने सहमति भए पनि अस्पतालले न मूलधन फिर्ता गर्यो, न ब्याज भुक्तानी गर्यो। त्यसपछि आफ्नो वैधानिक अधिकार सुरक्षित गर्न काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको र जिल्ला अदालत तथा उच्च अदालत दुवैले कम्पनीको दाबीलाई वैध ठहर गरेको विज्ञप्तिमा उल्लेख छ।
दुई तहका अदालतबाट वैध ठहर भइसकेको कारोबारलाई ‘मिटर ब्याज’को संज्ञा दिँदै डा. रूप ज्योति र स्याकार कम्पनीलाई बदनाम गर्ने प्रयास गैरजिम्मेवार, तथ्यविपरीत र मानहानिपूर्ण भएको कम्पनीको दाबी छ।
स्याकारले सञ्चारमाध्यमलाई समाचार प्रकाशन वा प्रसारणअघि तथ्यको सत्यापन गर्न तथा कानुनी र व्यावसायिक यथार्थलाई निष्पक्ष रूपमा प्रस्तुत गर्न आग्रह गरेको छ। साथै, आम नागरिकलाई अपुष्ट तथा भ्रामक प्रचारप्रसारबाट भ्रमित नहुन अनुरोध गर्दै यस्ता गतिविधिविरुद्ध आफ्नो सम्पूर्ण कानुनी अधिकार सुरक्षित रहेको जनाएको छ।



प्रतिक्रिया