काठमाडौं । होटल संघ नेपाल (HAN) ले संघीय संरचनाअनुरूप आफ्नो संगठनलाई थप सुदृढ र प्रभावकारी बनाउने अभियानअन्तर्गत होटल संघ नेपाल-बागमती प्रदेश समितिको औपचारिक गठन तथा घोषणा गरेको छ। काठमाडौंको होटल जी-रामायणमा आयोजित कार्यक्रममा बाग्मती प्रदेश सरकार, पर्यटन क्षेत्रका सरोकारवाला, होटल व्यवसायी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
होटल संघ नेपालले आफ्नो स्थापना भएको ६ दशक पूरा गरी हिरक जयन्ती वर्ष मनाइरहेको सन्दर्भमा प्रदेशस्तरमा संगठन विस्तारलाई तीव्रता दिएको हो। यसअघि २०८३ असार १५ गते भक्तपुरको रानिकोट स्थित होटल भिलेज हाइल्यान्ड रिसोर्टका प्रबन्ध निर्देशक राम सुन्दर बकेलाई बागमती प्रदेश तदर्थ समितिको अध्यक्षमा मनोनयन गरिएको थियो। सोही निर्णयलाई औपचारिकता प्रदान गर्दै शुक्रबार बागमती प्रदेश समितिको घोषणा गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि बाग्मती प्रदेशका पर्यटन सचिव दिपेन्द्र सुवेदीले बागमती प्रदेश नेपालको पर्यटन उद्योगको मेरुदण्ड रहेको उल्लेख गर्दै राजधानी काठमाडौंसहित ललितपुर, भक्तपुर, चितवन, रसुवा, धादिङ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा, नुवाकोट, मकवानपुर, रामेछाप र सिन्धुलीलगायत जिल्लाहरू धार्मिक, सांस्कृतिक, ऐतिहासिक, प्राकृतिक तथा साहसिक पर्यटनका दृष्टिले अत्यन्तै सम्भावनायुक्त रहेको बताए। उनले निजी क्षेत्र, स्थानीय सरकार र संघीय सरकारबीच प्रभावकारी सहकार्य हुन सके बागमती प्रदेश मुलुककै प्रमुख पर्यटकीय केन्द्र मात्र नभई अन्तर्राष्ट्रिय पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित हुने विश्वास व्यक्त गरे।

होटल संघ नेपालका कार्यवाहक अध्यक्ष प्रवीणबहादुर पाण्डेले विदेशी तथा आन्तरिक पर्यटकको सबैभन्दा बढी आवागमन हुने प्रदेश भएकाले बागमतीलाई प्राथमिकतामा राखेर प्रदेश समिति गठन गरिएको बताए। उनले प्रदेशस्तरीय संरचनाले होटल तथा आतिथ्य सेवाको गुणस्तर अभिवृद्धि, व्यवसायीबीच समन्वय, नीतिगत पैरवी तथा पर्यटन प्रवर्द्धनलाई नयाँ गति दिने विश्वास व्यक्त गरे। पाण्डेले काठमाडौं र ललितपुरमा होटल संघका क्षेत्रीय कार्यालय स्थापना गर्ने तयारी भइरहेको जानकारी दिँदै होटल तथा आतिथ्य क्षेत्रसँग सम्बन्धित कानुन समयानुकूल संशोधनका लागि सरकारसँग छलफल अघि बढाइएको पनि बताए।
होटल संघ नेपालका महासचिव साजन शाक्यले संघीय संरचनाअनुरूप प्रदेश समिति गठनले होटल व्यवसायीका साझा मुद्दालाई प्रभावकारी रूपमा उठाउने, प्रदेशस्तरमा संस्थागत क्षमता अभिवृद्धि गर्ने तथा पर्यटन क्षेत्रको समग्र विकासमा निजी क्षेत्रको भूमिका अझ सशक्त बनाउने धारणा राखे।
नवनियुक्त हानका बागमती प्रदेश समितिका अध्यक्ष राम सुन्दर बकेले आफ्नो नेतृत्वमा प्रदेशका सबै जिल्लाका होटल व्यवसायीलाई एउटै साझा मञ्चमा आबद्ध गर्दै होटल तथा पर्यटन उद्योगको संस्थागत विकास, व्यावसायिक हित संरक्षण, सेवा गुणस्तर अभिवृद्धि तथा पर्यटन प्रवर्द्धनका क्षेत्रमा परिणाममुखी ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले बागमती प्रदेश धार्मिक, सांस्कृतिक, ऐतिहासिक, प्राकृतिक, साहसिक तथा शहरी पर्यटनको अनुपम संगम भएकाले यसको सम्भावनालाई एकीकृत रूपमा प्रवर्द्धन गर्न सके नेपालको पर्यटन उद्योगले नयाँ उचाइ हासिल गर्ने विश्वास व्यक्त गरे।
अध्यक्ष बकेले वैधानिक रूपमा सञ्चालन हुने होटल व्यवसायलाई प्रोत्साहन, होटलहरूको डिजिटल प्रवर्द्धन, अन्तर्राष्ट्रिय बजारमा बागमती प्रदेशका साथै मुलुकको समग्र पर्यटनलाई ब्रान्डिङ, व्यवसायीहरूको क्षमता विकास तथा सरकारसँग नीतिगत सहकार्यलाई आफ्नो कार्यकालको प्राथमिकतामा राखिने बताए। उनले बागमती प्रदेशलाई नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सबै सरोकारवालाबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गरे।
घोषित होटल संघ नेपाल–बागमती प्रदेश समितिको अध्यक्षमा राम सुन्दर बके, उपाध्यक्षमा नेत्रजंग थापा, महासचिवमा शिवराज दुवाडी तथा कोषाध्यक्षमा लीना खड्का रहेका छन्। त्यसैगरी सदस्यहरूमा समीर लामा, राजाराम सिलवाल र विनोद जिरेल चयन भएका छन् भने सल्लाहकारहरूमा घनश्याम श्रेष्ठ, ज्ञानेन्द्रकुमार विष्ट, प्रेमकान्त श्रेष्ठ तथा सत्यराम सुवाल रहेका छन्।
होटल संघ नेपालले बागमती प्रदेश समितिको गठनसँगै प्रदेशका सबै जिल्लाका होटल व्यवसायीबीच समन्वय, पर्यटन प्रवर्द्धन, व्यावसायिक हित संरक्षण, गुणस्तरीय आतिथ्य सेवाको विकास तथा सरकार–निजी क्षेत्रबीच सहकार्यलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ। संघका अनुसार संघीय संरचनाअनुरूप गठन गरिएका प्रदेश समितिहरूले नेपालको पर्यटन तथा आतिथ्य उद्योगलाई संस्थागत रूपमा थप मजबुत बनाउँदै राष्ट्रिय अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया