धनगढी । शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय (गेटा मेडिकल विश्वविद्यालय)सँग सम्बन्धित माग राख्दै डा. गोविन्द केसीले सुरु गरेको सत्याग्रहप्रति सुदूरपश्चिममा विरोधका स्वर पनि सुनिन थालेका छन् ।
शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिका संयोजक लोकराज पाण्डेले डा. केसीले विश्वविद्यालयसँग सम्बन्धित माग फिर्ता नलिए संघर्ष समिति प्रतिअनसनमा उत्रिने चेतावनी दिएका छन् ।
भिडियो सन्देश जारी गर्दै पाण्डेले शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सुदूरपश्चिमका नागरिकको दशकौँ लामो संघर्ष, त्याग र समर्पणको प्रतिफल भएको उल्लेख गर्दै यसको सञ्चालन प्रक्रियामा कुनै पनि प्रकारको अवरोध स्वीकार्य नहुने बताए।
उनले विश्वविद्यालयका प्रमुख पदाधिकारीहरूको नियुक्ति खारेज गर्नुपर्ने मागसहित जारी गरिएको अनसन तत्काल फिर्ता लिन डा. केसीलाई आग्रह गर्दै त्यसो नभए संघर्ष समिति सरकारसँगै डा. केसीविरुद्ध पनि प्रतिरोधात्मक आन्दोलन र प्रतिअनसनमा उत्रिन बाध्य हुने चेतावनी दिए।
पाण्डेका अनुसार सुदूरपश्चिमका नागरिकको भावना, अधिकार र विकासको आकांक्षाको सम्मान गर्दै विश्वविद्यालयलाई शीघ्र सञ्चालनमा ल्याउनु अहिलेको प्राथमिकता हुनुपर्नेछ। विश्वविद्यालय सञ्चालन प्रक्रियालाई कमजोर बनाउने वा अनावश्यक रूपमा प्रभावित पार्ने कुनै पनि गतिविधिबाट सबै पक्ष संयमित हुनुपर्ने उनको भनाइ छ।
यता, डा. गोविन्द केसी भने धनगढीमा आफ्नो २४औँ सत्याग्रह जारी राखिरहेका छन्। चिकित्सा शिक्षा सुधारका पुराना मागसँगै उनले शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसँग सम्बन्धित विषयलाई पनि यसपटकको आन्दोलनमा समेटेका छन्।
डा. केसीले गेटामा विश्वविद्यालय स्थापना गर्ने प्रक्रिया पर्याप्त कानुनी र नीतिगत तयारीबिनै हतारमा अघि बढाइएको तथा कानुनी व्यवस्था निश्चित निजी स्वार्थलाई अनुकूल हुने गरी ल्याइएको आरोप लगाएका छन्। उनी आफू विश्वविद्यालय सञ्चालनको विरोधमा नभई पारदर्शी, विधिसम्मत र चिकित्सा शिक्षा सुधारको मूल मर्मअनुसार विश्वविद्यालय सञ्चालन हुनुपर्ने पक्षमा रहेको बताउँदै आएका छन्।
यसैबीच, सुदूरपश्चिमका स्थानीय, नागरिक समाजका प्रतिनिधि तथा अन्य सरोकारवालाले चिकित्सा शिक्षा सुधार र गेटा विश्वविद्यालय सञ्चालनलाई आमनेसामने उभ्याउनु उपयुक्त नहुने धारणा राख्दै सरकार र डा. केसीबीच तत्काल उच्चस्तरीय वार्ता गरी सहमतिमार्फत निकास खोज्नुपर्ने बताएका छन्।
उनीहरूको भनाइमा, विश्वविद्यालय सञ्चालन र चिकित्सा शिक्षा सुधार दुवै राष्ट्रिय आवश्यकता भएकाले टकराव होइन, संवाद र सहकार्यबाट समाधान खोजिनु आवश्यक छ।

प्रतिक्रिया