स्वकीय सचिवको सरकारी सुविधा नलिने रास्वपा सांसद न्यौपानेको घोषणा


काठमाडौं । तनहुँ–२ का राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रीराम न्यौपानेले स्वकीय सचिवको सुविधा नलिने घोषणा गरेका छन् । साामाजिक संजालमार्फत सांसद न्यौपानले तनहुँ–२ मा जनसंवादका क्रममा नागरिकबाट आएको सुझाव र जनभावनालाई सम्मान गर्दै यस्तो निर्णय गरेको बताएका हुन्।

उनले भनेका छन्, ‘जनताको भावना नै मेरो मार्गदर्शन हो । स्वकीय सचिवका लागि सरकारले उपलब्ध गराउने सुविधा नलिने जनचाहना मैले तनहुँ–२ को जनसंवादका क्रममा प्रत्यक्ष अनुभूति गरेँ। त्यसैले जनमतको सम्मान गर्दै सरकारले दिने स्वकीय सचिवको तलब–भत्ता सुविधा नलिने निर्णय गरेको छु।’

उनले यो आफ्नो व्यक्तिगत निर्णय भएको स्पष्ट पार्दै यसबाट कसैलाई असहजता वा मर्का पर्न गएमा क्षमायाचना गरेका छन्। जनताको विश्वास र सेवाभाव नै आफ्नो सबैभन्दा ठूलो जिम्मेवारी रहेको उनको भनाइ छ । सरकारले स्वकीय सुविधा दिने निर्णय गरेपछि रास्वपाका अरु सांसदले भने स्वकीय सचिवका लागि निवेदन दिन आह्वान गरिरहेका छन् ।