काठमाडौँ । प्रधानमन्त्री बालेन साहले हस्तकला व्यवसायसम्बन्धी नीति निर्माण, हस्तकला व्यवसायको संरक्षण, रोजगारी सिर्जना र हस्तकलाको पुस्तान्तरण गर्ने विषयमा सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार आयोजित छलफलमा उनले सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा हस्तकला विकास बोर्ड गठन गर्नुपर्ने मागप्रति सरकार सकारात्मक रहेको बताए ।
छलफलका क्रममा नेपाल हस्तकला व्यवसायी महासंघका प्रतिनिधिहरूले हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सरकारसँग सहकार्य गर्न आफूहरू तयार रहेको स्पष्ट पारेका थिए ।
प्रधानमन्त्री शाहले आज उनीहरूलाई छलफलका लागि बोलाएका हुन् । वर्तमान सरकारले हस्तकला व्यवसायलाई प्राथमिकता दिएको आफूहरूलाई महसुस भएको भन्दै सरकारसँग कुनै पनि किसिमको सहकार्य गर्न तयार रहेको महासंघका प्रतिनिधिहरूले बताए ।
अहिलेसम्म महासंघले मंसिर २८ मा आफ्नै ढंगले हस्तकला दिवस मनाइरहेका अवस्थामा अब राष्ट्रिय स्तरमा मनाउनुपर्ने महासंघका पदाधिकारीले माग गरेका थिए । दिवस मनाउने विषयमा तत्कालै गृह मन्त्रालयसँग समन्वय गर्न आफ्नो टिमलाई निर्देशन प्रधानमन्त्रीले निर्देशन दिएका थिए ।
यस्तै, हस्तकला सामग्री निर्यात अहिलेसम्म स्वघोषणामा भइरहेकामा त्यसको साटो बिजक मूल्यांकन अनिवार्य गर्दा राजस्व वृद्धिमा सहयोग पुग्ने पदाधिकारीको सुझावअनुसार काम गरिने पनि प्रधानमन्त्री शाहले आश्वस्त पारे ।
हस्तकला सामग्री निर्यात गर्दा पाउनुपर्ने सोको पाँच प्रतिशत रकम तीन वर्षयता रोकिएकामा प्रधानमन्त्री शाहले त्यसलाई पुनः निरन्तरता दिने विषयमा पनि आश्वस्त हुन व्यवसायीलाई आग्रह गरेका थिए । हस्तकलाको वस्तु उत्पादन र विकासका लागि उद्योग विभागमा सार्क हस्तकला विकास केन्द्रको भवन निर्माण भइसके पनि त्यहाँ अरु नै कार्यालय रहेकामा त्यो कार्यालय आफूहरूलाई फिर्ता हुनुपर्ने माग पदाधिकारीले राखेका थिए ।
यस्तै, उपत्यकामा हस्तकला ग्राम खडा गर्ने र सातै प्रदेशमा हस्तकलासम्बन्धी सीप प्रशिक्षण केन्द्र खोल्ने विषयमा प्रधानमन्त्री शाहले विशेष चासो देखाएका छन् । परम्परागत सीप कलालाई जगेर्ना गर्ने र हस्तकलाकर्मीलाई परिचयपत्र दिनुपर्नेलगायत पदाधिकारीले विभिन्न माग राखेकाे प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ ।
छलफलमा महासंघका अध्यक्ष रवीन्द्र शाक्य, वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्य, उपाध्यक्ष किरण कुमार स्थापित, सल्लाहकार विकास रत्न ढाक्वा र शीर्ष निर्यातकर्ता महेश्वर श्रेष्ठ सहभागी थिए ।

प्रतिक्रिया