हुथी विद्रोहीद्वारा साउदी अरेबियामाथि नौसैनिक नाकाबन्दी घोषणा


रोयटर्स । इरान समर्थित यमनका हुथी विद्रोहीले साउदी अरेबियामाथि नौसैनिक नाकाबन्दी घोषणा गरेका छन्। यसले अमेरिका–इरान युद्ध थप फैलिने जोखिम बढाएको छ भने विश्व ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय व्यापारमा पनि नयाँ चुनौती सिर्जना हुने आशंका गरिएको छ।

हुथीले सोमबार जारी गरेको वक्तव्यमा तत्काल प्रभावबाट साउदी अरेबियाविरुद्ध समुद्री नाकाबन्दी लागू गरिएको जनाएको छ। समूहले यसलाई यमनमाथि साउदी अरेबियाले लगाएको ‘अन्यायपूर्ण र दमनकारी नाकाबन्दी’ को प्रतिकार भएको दाबी गरेको छ।

हुथीको घोषणापछि यमनमा साउदी नेतृत्वको सैन्य गठबन्धनले बल प्रयोग गरेर जवाफ दिने चेतावनी दिएको छ। गठबन्धनले बाब अल–मन्देब जलडमरूमध्य हुँदै आवतजावत गर्ने जहाजहरूको सुरक्षाका लागि विशेष सुरक्षा व्यवस्था लागू गर्न थालिएको जनाएको छ। हर्मुज जलडमरूमध्य प्रभावकारी रूपमा बन्द भएपछि बाब अल–मन्देब साउदी तेल निर्यातको प्रमुख समुद्री मार्ग बनेको छ।

यो घटनाक्रम अमेरिकी सेनामाथि पछिल्ला दिनमा भएका घातक आक्रमणपछि आएको हो। अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले जोर्डनस्थित अमेरिकी सैन्य अड्डामाथि इरानले गरेको आक्रमणमा दुई अमेरिकी सैनिकको मृत्यु भएको पुष्टि गरेको छ।

हराइरहेका अर्का एक सैनिकको हुनसक्ने अवशेष पनि फेला परेको पेन्टागनले जनाएको छ। त्यस्तै, उत्तरी इराकमा इरानी ड्रोनको विस्फोटक निष्क्रिय पार्ने क्रममा अर्का एक अमेरिकी सैनिकको पनि मृत्यु भएको छ।

यसैबीच, तेहरान र वासिङ्टनबीच तनाव कम गर्न कूटनीतिक प्रयास जारी रहेको संकेत देखिएको छ। इरानी विदेश मन्त्रालयले मध्यस्थकर्तामार्फत नयाँ प्रस्ताव प्राप्त भएको जनाएको भए पनि त्यसबारे थप विवरण सार्वजनिक गरेको छैन।

हुथीको घोषणापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य केही समय बढे पनि सम्भावित कूटनीतिक समाधानको अपेक्षामा पछि पुनः घटेको छ। यद्यपि, लाल सागर हुँदै हुने समुद्री ढुवानीको जोखिम बढेसँगै बीमा शुल्क भने बढेको छ।