प्रदेश सरकारमा देखिएका समस्या समाधानका लागि आन्तरिकरुपमा संवाद भइरहेका छन्ः उपसभापति शर्मा


काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रदेश सरकार सञ्चालनका विषयमा सत्ता साझेदार दलहरूबीच केही समस्या देखिएको बताएका छन् ।

बीपी स्मृति दिवसका सन्दर्भमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उपसभापति शर्माले प्रदेश सरकारहरूको अवस्थाबारे सार्वजनिक टिप्पणीभन्दा आन्तरिक संवाद र अभ्यास जारी रहेको बताए । उनले आवश्यक परे नेपाली कांग्रेस प्रतिपक्षमा बस्न पनि तयार रहेको स्पष्ट पारे ।

उनले भने, ‘प्रदेशगत सरकारहरूको बारेमा केही समस्या देखिएको छ । सरकारमा रहेका दलहरूको बीचमा केही समस्याहरू उब्जिएका छन् । अब प्रदेश सरकारहरू कसरी चल्छन् या कसरी नयाँ बन्छन् भन्ने विषयमा सार्वजनिक रूपमा धेरै टिप्पणी गरिरहनुभन्दा पनि आन्तरिक रूपमा अभ्यासहरू र संवादहरू भइरहेका छन् ।’

उपसभापति शर्माले कुनैपनि प्रदेशसभा प्रतिपक्षविहीन बन्न नहुने धारणा व्यक्त गर्दै संविधानको मूल मर्मलाई जोगाउनुपर्नेमा जोड दिए ।

उनले भने, ‘कुनैपनि प्रदेश सभा प्रतिपक्षविहीन बन्नु हुँदैन । वर्तमान संविधान निर्माण गर्दैगर्दा महत्वपूर्ण भूमिका निर्वाह गरेका दलहरूले आजको प्रतिकूल परिस्थितिमा संविधान संशोधनको छलफल पनि चलिरहेको बेलामा त्यसको मूल मर्मलाई भंग गर्न मिल्दैन । प्रदेशगत सरकारहरूको सन्दर्भमा उब्जिएका प्रश्नहरूको समस्याको एउटा चुरो त्यहीँसँग सम्बन्धित छ । आवश्यक परेको खण्डमा कांग्रेस प्रतिपक्षमा बस्न पनि तत्पर हुन्छ । तर नागरिकको अभिमतभन्दा बाहिर गएर सबै दल एउटै सरकारमा बस्नुपर्छ भन्ने मान्यता राख्दैन ।’