काठमाडौं । कागेश्वरी मनोहरास्थित पाणिनि विद्यालयले आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको पूर्वसन्ध्यामा ‘आठौँ पाणिनि छन्दसाँझ–२०८३’ भव्य रूपमा सम्पन्न गरेको छ।
संस्कृत वाङ्मयको अमर विरासत तथा नेपाली साहित्यको शास्त्रीय छन्द परम्पराको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले प्रत्येक वर्ष आयोजना हुँदै आएको कार्यक्रममा पाणिनि विद्यालयका प्राचार्य प्रकाशचन्द्र खड्काले अध्यक्षता गरेका थिए । प्रमुख अतिथिका रूपमा परमहंस परिव्राजकाचार्य यतीश श्री १००८ डा. स्वामी केशवानन्द गिरिजी महाराज तथा विशिष्ट अतिथिका रूपमा भाषाविद् एवं कवि प्रा. डा. देवी नेपाल र वरिष्ठ पत्रकार टीकाराम यात्री सहभागी भएका थिए ।
कक्षा ४ का विद्यार्थीहरूको मन्त्रोच्चारण, कक्षा ८ का विद्यार्थीहरूको शङ्खध्वनि र दीपप्रज्ज्वलनबाट उद्घाटन गरिएको कार्यक्रममा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूले विभिन्न शास्त्रीय छन्दमा आधारित काव्य तथा स्तोत्रहरूको कण्ठस्थ वाचन प्रस्तुत गरेका थिए।

कार्यक्रममा आद्याचार्य शङ्कराचार्यका स्तोत्र, आदिकवि भानुभक्त आचार्य, महाकवि लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौड्याल, माधवप्रसाद घिमिरे, भरतराज पन्त, रामप्रसाद ज्ञवाली, टीका आत्रेय, गौतम मनीष र मनोज भण्डारीलगायतका स्रष्टाका रचनाहरू प्रस्तुत गरिएका थिए। स्रग्विणी, पञ्चचामर, तोटक, उपजाति, भुजङ्गप्रयात, शिखरिणी, मन्दाक्रान्ता र शार्दूलविक्रीडितजस्ता शास्त्रीय छन्दका साथै सवाई र झ्याउरे छन्दको समेत प्रयोग गरिएको थियो। अभिनयात्मक रामायण वाचन, स्वागत नृत्य तथा बालकलाकार आँचल बस्यालको विशेष प्रस्तुति पनि आकर्षणको केन्द्र बनेको थियो।

कार्यक्रमका संयोजक रोहिणीराज तिमिल्सिनाले संस्कृत र नेपाली साहित्यको शास्त्रीय परम्परा जोगाउने उद्देश्यले आठ वर्षअघि सुरु गरिएको ‘छन्दसाँझ’ अहिले स्थापित अभियान बनेको बताए ।
प्रमुख अतिथि डा. स्वामी केशवानन्द गिरिजी महाराजले पाणिनि विद्यालयको संस्कारयुक्त शिक्षाको प्रशंसा गर्दै आफूले भ्रमण गरेका हजारौँ विद्यालयमध्ये पाणिनिमा देखिएको शैक्षिक वातावरण उदाहरणीय रहेको बताए ।
विशिष्ट अतिथि प्रा. डा. देवी नेपालले विद्यालयको शैक्षिक वातावरणबाट प्रभावित भएको उल्लेख गर्दै पाणिनिमा अध्ययन गर्ने अवसर पाएको भए आफ्नो जीवन फरक हुने अनुभूति भएको बताए ।
वरिष्ठ पत्रकार टीकाराम यात्रीले अङ्ग्रेजी सिक्दैमा मातृभाषाको उपेक्षा गर्न नहुने उल्लेख गर्दै मातृभाषाको सम्मानलाई संस्थागत रूपमा अघि बढाउन पाणिनि विद्यालयले दुई दशकअघि नै पहल गरेको धारणा राखे ।
समारोहमा डा. स्वामी केशवानन्द गिरि, प्रा. डा. देवी नेपाल र वरिष्ठ पत्रकार टीकाराम यात्रीलाई सम्मानसमेत गरिएको थियो।
कार्यक्रमको सञ्चालन शिक्षिका गोमा रेग्मीले गरेकी थिइन् भने वाद्यवादक समूहको नेतृत्व विद्यालयका सङ्गीत शिक्षक श्रीजय शाक्यले गरेका थिए । अध्यक्षीय मन्तव्यमा प्राचार्य प्रकाशचन्द्र खड्काले छन्द साँझले नयाँ पुस्तामा भाषा, साहित्य र संस्कृतिप्रतिको अपनत्व बढाउन महत्वपूर्ण भूमिका खेलेको बताए ।
समारोहमा विद्यालयकी निर्देशिक रक्षा गौतम, उपप्रधानाचार्य राजीव खड्का, विद्यालय परिवार तथा ठूलो सङ्ख्यामा अभिभावकहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया