काबुल । अफगानिस्तानको पश्चिमी शहर हेरातमा महिलाको पोशाकबारे गरिएको कडाइको बचाउ गर्दै अफगानिस्तानको सदाचार प्रवर्धन तथा विकृति निवारण मन्त्रीले यसले महिलाको ‘इज्जत’ को रक्षा गरेको बताएका छन् । महिला दमन भएको भनी सरकारमाथिको आलोचनालाई उहाँले तालिवानविरूद्धको प्रचार मात्र भएको बताएका छन् ।
“हेरातमा सबै ठीक छ”, सदाचार प्रवर्धन तथा विकृति निवारण मन्त्री मोहम्मद खालिद हनाफीले हेरातमा पत्रकार सम्मेलनमा भने, “यहाँ कुनै दमन वा क्रूरता छैन, र हाम्रा दिदीबहिनीहरूको अधिकार सुरक्षित छ।”
जुन महिनाको सुरुमा तालिबान सरकारको अनुशासनमामिला हेर्ने प्रहरीले दर्जनौँ महिलालाई आधिकारिक पोशाक नियम उल्लङ्घन गरेको आरोपमा पक्राउ गरेको थियो। उनीहरूले शरीर ढाक्ने चादर वा बुर्का नलगाएको आरोप थियो।
त्यसमा डक्टर्स विदाउट बोर्डर्समा काम गर्ने एक अस्पताल कर्मचारी पनि परेपछि यसको कडा निन्दा भएको थियो ।
संयुक्त राष्ट्रसङ्घका अनुसार यी प्रतिबन्धहरूविरुद्ध भएको दुर्लभ प्रदर्शनलाई हिंसात्मक रूपमा दबाइएको थियो र कम्तीमा दुई जनाको मृत्यु भएको थियो।
अफगानिस्तानभरि महिलाहरू घर बाहिर निस्कदा लगभग पूरै ढाकिनुपर्ने नियम छ। धेरैले लामो ‘अबाया रोब’, मुस्लिम हेडस्कार्फ र अनुहार ढाक्ने कपडा लगाउँछन् वा अनिवार्य रूपमा बुर्का वा च्यादरको प्रयोग गर्छन् ।
हनाफीले भने, “शत्रुहरूले यसलाई तालिबानको कानुन र व्यवस्था भनेर चित्रण गर्नेछन् तर ‘यो त ईश्वरको आदेश हो’।”
महिलाको पोशाकमा हालै गरिएको कडाइले उनीहरू घरमै बस्न थालेका कारण व्यवसायलाई पनि प्रभावित गरेको छ। पसल सञ्चालक, चालक र स्थानीय बासिन्दाहरूका अनुसार महिला ग्राहकहरू घटेका छन् ।
हेरातका महिलाहरूले एएफपीसँग बताए, “उनीहरू अब अत्यावश्यक काम बाहेक बाहिर निस्कदैनन्, किनकि अधिकारीहरूले पोशाक नियम उल्लङ्घनको आरोपमा लगाउन सक्छन् भन्ने डर छ ।”
एक २७ वर्षीया महिलाले भनिन्, “उहाँ हरेक हप्ताको दिन भाषा कक्षा जान निजी सवारीमा जानुहुन्थ्यो । जुन महिनादेखि उहाँ घरबाट निकै कम निस्किने गर्नुभएको छ। मलाई डर र आतङ्कले घेरेको छ। डरले गर्दा मैले सबै कुरा त्यागिदिएकी छु ।”
सन् २०२१ मा सत्तामा फर्किएपछि तालिबानले महिलाको सार्वजनिक जीवनमा पहुँचलाई सीमित पार्ने धेरै नियम लागू गरेका छन्। उनीहरूलाई प्राथमिक तहभन्दा माथि पढ्न, केही पेशामा काम गर्न र पार्कमा जान प्रतिबन्ध लगाइएको छ।

प्रतिक्रिया