आदिकवि भाषाका माध्यमबाट विश्वभरका नेपालीलाई भावनात्मक रुपमा एकताबद्ध बनाउने माध्यमः परराष्ट्रमन्त्री खनाल


काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषाको माध्यमबाट विश्वभरका नेपालीलाई भावनात्मक रूपमा एकताबद्ध बनाएको बताएका छन् ।

नेपाली शिक्षा परिषद् र भानु माध्यमिक विद्यालयले भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीको अवसरमा सोमबार आयोजना गरेको ‘भानु प्रतिमामा माल्यार्पण समारोह’मा मन्त्री खनालले भाषाका माध्यमबाट नेपाललाई संसारभर जोड्ने काम भानुभक्तले गरेको उल्लेख गरे ।

“जसरी पृथ्वीनारायण शाहले नेपालको भौगोलिक एकीकरण गर्नुभयो, त्यसरी नै भानुभक्त आचार्यले भाषा र साहित्यको माध्यमबाट नेपालीको भावनालाई एकीकरण गर्नुभयो”, उनले भने ।

उनले अहिलेको समयमा नेपालको ‘सफ्ट पावर’को रूपमा नेपाली भाषा, धर्म, संस्कृति र सभ्यता नै रहेको उल्लेख गरे । संसारको जुनसुकै कुनामा रहेका नेपालीलाई पनि नेपाली भाषाले नै एक–अर्कासँग जोड्ने र आफ्नोपनको महसुस गराउने उनको भनाई थियो ।

मन्त्री खनालले भानुभक्त र घाँसीको प्रसङ्ग उल्लेख गर्दै समाजसेवा र देश निर्माणमा हरेक नागरिकको भूमिका महत्वपूर्ण हुने बताए । “घाँसीले आफ्नो नाम रहोस् भन्ने भावनाले कुवा खनाएको जस्तै, हामीले पनि समाज र राष्ट्रका लागि केही न केही योगदान दिनुपर्छ”, उनले भने ।

तनहुँको चुँदीमा जन्मिएका मन्त्री खनालले भानुभक्त आचार्यप्रति आफ्नो भावनात्मक सम्बन्ध रहेको बताए । उनले भानु जयन्तीले नेपाली भाषा र साहित्यको संरक्षणमा सधैँ प्रेरणा दिइरहने विश्वास व्यक्त गरे ।

नेपाली शिक्षा परिषद्की अध्यक्ष रमा शर्माले भानु माध्यमिक विद्यालयको प्राङ्गणमा रहेको भानुभक्तको प्रतिमा नेपालकै पहिलो प्रतिमा भएको बताउँदै यसको ऐतिहासिक महत्व रहेको उल्लेख गरिन् ।

नेपाली शिक्षा परिषद्को अगुवाइमा विसं २०१६ असार २९ गते स्थापना भएको भानुभक्तको उक्त प्रतिमामा हरेक वर्ष माल्यार्पण गर्ने र भानु जयन्ती मनाउने गरिएको छ । विसं २०१६ मा स्थापना भएको उक्त प्रतिमाको तत्कालीन प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाले अनावरण गरेका थिए ।