आत्मदाह प्रकरणलाई हनिमुन पिरियड भर्खर सकाएको सरकारको असफलतासँग जोडर हेर्न मिल्दैन


लिमा अधिकारी ।

मुगुबाट आँखैभरि सपना बोकेर काठमाडौँ छिरेका श्रमजीवी गणेश नेपाली हुन् या बुद्धनगरका व्यवसायी अश्विन राउत—यी दुवैको आत्मदाहको खबरले सिंगो देशको मुटु छियाछिया बनाएको छ । फरक भूगोल, फरक पृष्ठभूमि र फरक वर्गका यी दुई नागरिकले जीवन हार्ने जुन आत्मघाती बाटो रोजे, त्यसले आजको नेपाली समाजको एउटा भयानक र दुरुह तस्बिर छरपस्ट पारेको छ।
दुनियाँसँगको लडाइँ पछि लाचार भएर जब एउटा नागरिक आफ्नै शरीरमा आगो लगाउन विवश हुन्छ, तब भित्री आत्मादेखि नै प्रश्न उठ्छ—आखिर यो चरम निराशा कोसँग हो ?

यो विषयलाई १०० दिनको हनिमुन पिरियड भर्खर सकाएको नयाँ सरकारको असफलतासँग मात्र जोडेर सस्तो राजनीतिकरण गरिनु कदापि सही होइन । सबै दोष नयाँ सरकार माथि थोपर्दै विष वमन गर्नु राजनितिक परिपक्वता होइन । यो कुनै एउटा सरकारको मात्र कुरा होइन, बरु दशकौंदेखि संस्थागत भएको राज्यको गलत प्रणालीको संचित परिणाम हो। आज बजारमा व्याप्त चरम आर्थिक अभाव, दिनप्रतिदिन अकासिँदो महँगो जीवनशैली, र अवसरहरूको न्यायोचित एवं समान पहुँच नहुँदा आमनागरिक श्रमजीवी, साना व्यवसायीहरू चौतर्फी चेपुवामा परेका छन्। इमान्दार भएर मिहिनेत गर्छु भन्दा पनि बाँच्नै धौ–धौ हुने यो आर्थिक चक्रले मानिसलाई लाचार बनाइरहेको छ।

तर, यसलाई केवल ’राज्यको असफलता’ को एउटा भाष्यमा मात्र सीमित राखेर हामी समाज र परिवारका सदस्यहरू पन्छिन मिल्दैन । के हामीले कहिल्यै ऐना अगाडि उभिएर आफूलाई सोधेका छौँ—हामी आफू र आफ्नो परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यप्रति कत्तिको गम्भीर छौँ ? हाम्रै घरको कोठाभित्र कोही आर्थिक वा मानसिक तनावले निसास्सिएर रोइरहँदा हामीले कहिल्यै उसको काँधमा हात राखेर “म छु नि“ भन्यौँ, कि केवल पैसा र सफलताको दौडमा उसलाई धकेलिरह्यौँ ? आज सफलतालाई केवल पैसा र भौतिक सम्पन्नतासँग जोडेर हेर्ने समाजको दृष्टिकोण र परिवारको बढ्दो दबाब (एचभककगचभ) ले संघर्ष गरिरहेको मानिसलाई थप निसासिने बनाइरहेको छ। आर्थिक तनावका बीच हामी आफैं र हाम्रा परिवारको मानसिक स्वास्थ्यप्रति हामी कहिले गम्भीर हुने ? कोठाभित्र कोही त्यही सामाजिक दबाबले रोइरहँदा हामीले कहिल्यै उसको कुरा सुन्यौँ? मन बिरामी हुँदा हामी किन परामर्शदाता कहाँ जान हिचकिचाउँछौँ?

यी त्रासदी घटनाले भुसको आगो झैँ फैलिरहेको मानसिक तनाव र सामाजिक विचलनको भयानक ऐना देखाएको छ। मानसिक स्वास्थ्यलाई एउटा संवेदनशील राष्ट्रिय चुनौतीका रूपमा स्वीकार्दै, हामी नीति निर्माताहरूले आर्थिक सुरक्षा, अवसरको न्यायोचित वितरण र मानसिक परामर्शको बलियो प्रणाली बनाउन अझै धेरै काम गर्न बाँकी छ । यो कठिन समयमा एकअर्काको ढाडस र ओत बन्न समय निकालौँ । परिवर्तन केवल सरकारमा मात्र होइन—अब प्रणाली, सामाजिक सोच र पारिवारिक दायित्वमा आवश्यक छ।