बीबीसी । इरानले होर्मुज जलडमरूमध्य हुँदै गइरहेको एक व्यावसायिक जहाजमाथि आक्रमण गरेपछि अमेरिकाले इरानका विभिन्न सैन्य लक्ष्यमा पुनः हवाई आक्रमण गरेको जनाएको छ।
अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) का अनुसार साइप्रसको झण्डा बोकेको जहाजमाथि इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी) ले आक्रमण गरेपछि यस साताको तेस्रो चरणको सैन्य कारबाही गरिएको हो।
सेन्टकमले आक्रमणका कारण जहाजको इन्जिन कक्षमा गम्भीर क्षति पुगेको र एक जना चालक दलका सदस्य सम्पर्कविहीन भएको जनाएको छ। अमेरिकी रक्षा मन्त्रालयले इरानले व्यावसायिक जहाजमाथिको आक्रमण दोहोर्याउँदै अन्तर्राष्ट्रिय समझदारीको उल्लङ्घन गरेको आरोप लगाएको छ।
अमेरिकी रक्षामन्त्री पीट हेगसेथले इरानले “गलत निर्णय गरेको र त्यसको मूल्य चुकाउनुपर्ने“ प्रतिक्रिया दिएका छन्।
उता, इरानले भने अर्को सूचना नभएसम्मका लागि होर्मुज जलडमरूमध्य बन्द गरिएको घोषणा गरेको छ। इरानी सरकारी सञ्चारमाध्यमका अनुसार जहाजले स्वीकृत मार्ग छाडेर आफ्नो ट्रयाकिङ प्रणाली बन्द गरेपछि त्यसमाथि चेतावनीस्वरूप आक्रमण गरिएको थियो। आईआरजीसीले जलडमरूमध्य बन्द गर्ने निर्णयलाई लिएर अमेरिकाले कुनै पनि सैन्य कदम चाले त्यसको कडा जवाफ दिइने चेतावनीसमेत दिएको छ।
यसअघि यसै साता ओमानी जलक्षेत्र हुँदै गइरहेका तीन व्यावसायिक तेल ट्यांकरमाथि आक्रमण भएपछि अमेरिका र इरानबीच सैन्य कारबाहीको शृंखला सुरु भएको थियो। इरानी अधिकारीहरूका अनुसार त्यसपछि अमेरिकाले गरेको हवाई आक्रमणमा १७ जनाको मृत्यु र ११५ जना घाइते भएका थिए।
त्यसको प्रत्युत्तरमा इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सहयोगीहरूलाई लक्षित गरी आक्रमण गरेको थियो।
तनाव बढ्दै जाँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी आक्रमणसँगै युद्धविराम समाप्त भएको घोषणा गरेका छन्। यद्यपि उनले वार्ता जारी रहने र मध्यस्थकर्तामार्फत समाधान खोज्ने प्रयास भइरहेको बताएका छन्। अमेरिकी सञ्चारमाध्यमका अनुसार इरानले ट्यांकरमाथिका आक्रमण गल्तीवश भएको र त्यसका लागि आन्तरिक ’अनियन्त्रित समूह’ जिम्मेवार रहेको सन्देश अमेरिकासमक्ष पठाएको छ।
यसैबीच, अमेरिकाले मध्यस्थकर्तामार्फत इरानलाई अन्तर्राष्ट्रिय व्यापारका लागि अत्यन्त महत्वपूर्ण मानिने होर्मुज जलडमरूमध्य खुला रहेको सार्वजनिक रूपमा घोषणा गर्न तथा व्यावसायिक जहाजमाथि आक्रमण नगर्ने प्रतिबद्धता जनाउन आग्रह गरेको छ।
होर्मुज जलडमरूमध्य बन्द गर्ने निर्णय इरानका नयाँ सर्वोच्च नेता आयातोल्लाह मोज्तबा खामेनीको पहिलो सार्वजनिक सम्बोधनपछि आएको हो। उनले आफ्ना पिता तथा पूर्व सर्वोच्च नेता अली खामेनीको हत्याको बदला लिइने बताएका छन्। अली खामेनी गत फेब्रुअरी २८ मा अमेरिका–इजरायल युद्धको पहिलो दिन भएको हवाई आक्रमणमा मारिएका थिए।

प्रतिक्रिया