‘गल्ती स्थानीय सरकारको हो’ भनेर जिम्मेवारीबाट पन्छिन पाउनुहुन्न गृहमन्त्रीज्यू


भावना राउत

गृहमन्त्रीज्यू,
शुक्रबार सदनमा तपाईंको आँसु देखियो । त्यो आँसु साँचो नै हो भन्ने विश्वास गर्न चाहन्छु । तर एउटा कुरा स्वीकार्नैपर्छ, राज्यको प्रतिक्रिया ढिलो भयो । घटना दिउँसो २ बजे घटेको थियो । साँझ ५ बजेसम्म गणेशजीका दाजु उपचारका लागि पैसा नभएको भन्दै मिडियामा रुँदै सहयोग मागिरहनुभएको थियो । गृह मन्त्रालयको टोली भने राति ९–१० बजे मात्रै पुग्यो। गणेशजीलाई अस्पताल लैजाँदै गर्दा गरिएको व्यवहार भिडियोमै देख्न सकिन्छ। जिम्मेवार ठाउँमा बसेपछि अब ‘बचाउन प्रयास गरियो’, ‘गल्ती स्थानीय सरकारको हो’ भनेर जिम्मेवारी पन्छिने ठाउँ हुँदैन। गल्ती त वर्षौँदेखि थुप्रिँदै आएको निराशाको हो, जसले एउटा नागरिकलाई ‘सहनुभन्दा जल्नु ठीक’ भन्ने निष्कर्षमा पुर्यायो। अब प्रश्न त्यहीँबाट सुरु हुनुपर्छ। व्यस्त सडकमा एक नागरिक आगोमा बलिरहँदा प्रहरी किन मुकदर्शक बन्यो ? नगर प्रहरीले एउटा नागरिकसँग त्यति अमानवीय व्यवहार गर्ने साहस कहाँबाट पायो ? यिनै प्रश्नको उत्तर खोज्नुपर्छ।

गृहमन्त्रीज्यू, तपाईं र मलाई दुवैलाई थाहा छ–हिजो यही घटना घटेको भए, सरकारभन्दा छिटो प्रतिक्रिया दिने हामी नेपाल हुने थियो। विपद्का समयमा काम गर्नुभएको तपाईंलाई ५–६ घण्टासम्म यो घटनाको जानकारी किन पुगेन ? सूचना प्रवाहमा कहाँ कमजोरी भयो? त्यो कमजोरीको मूल्य फेरि एक नागरिकको ज्यानले किन चुकाउनुपर्यो ? अब तपाईं सरकार हुनुहुन्छ, सत्ता हुनुहुन्छ। सरकारले जिम्मेवारी लिनु भनेको केवल छानबिन समिति बनाउनु होइन, स्वर्गीय गणेश नेपालीको परिवारलाई राज्य अझै अभिभावक भएर उभिन्छ भन्ने अनुभूति गराउनु पनि हो ।

कम्तीमा अबदेखि कुनै अर्को नागरिकले न्याय माग्न आफ्नै शरीरमा आगो लगाउनुपर्ने अवस्था नआओस्,यति भरोसा दिलाइदिनुहोस्। राज्यका कमजोरी पनि स्वीकार्दिनुस् । सरकार बनेदेखि अहिलेसम्म एक नागरिकमा आशासम्म नजाग्नुमा तपाई, हामी सबै दोषी छौँ । अब आशा जगाउने र जोगाउने काम गर्दिनुस् ।