पोखरामा जुनियर छात्रछात्रा ह्याण्डबल प्रतियोगिता सुरु


कास्की । पोखरा रङ्गशालामा आजदेखि यु–१६ छात्रछात्रा जुनियर ह्याण्डबल प्रतियोगिता सुरु भएको छ । विद्यालय तहदेखि राष्ट्रका लागि आवश्यक क्षमतावान ह्याण्डबल खेलाडी उत्पादन गर्दै खेलको आधार बलियो बनाउने लक्ष्यसहित गण्डकी प्रदेश ह्याण्डबल सङ्घको आयोजना तथा प्रदेश खेलकुद परिषद् गण्डकीको प्रवद्र्धनमा प्रतियोगिता सुरु भएको हो ।

पहिलो दिन छात्रतर्फ छ र छात्रातर्फ चार गरी १० खेल सम्पन्न भएका आयोजकले जनाएको छ । यही असार २९ गतेसम्म सञ्चालन हुने प्रतियोगिता ‘लिग कम नकआउट’ प्रणालीमा भएको प्रतियोगिताअन्तर्गत छात्रतर्फ १३ र छात्रातर्फ नौ टोलीको सहभागिता छ ।

प्रतियोगिताको उद्घाटन गर्दै प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्यसचिव श्रीधर शर्माले खेलकुदको विकास र खेलाडीको संरक्षणका लागि परिषद् प्रतिबद्ध रहेको बताए । उनले परिषद्ले निर्माण गरेका खेलकुद नीतिहरू राष्ट्रियस्तरमा अनुकरणीय बन्दै गएका उल्लेख गर्दै यही असार ३० गते खेलाडी तथा खेलसम्बन्धी सङ्घसंस्थालाई नगदसहित सम्मान गरिने जानकारी दिए ।

“खेल क्षेत्रमा हामीले लिएको नीतिले खेलकुद विकासमा योगदान पुगेको छ । खेलकुद प्रतियोगिता तथा खेलाडी सम्मानले नयाँ खेलाडी उत्पादन र खेलाडीमा थप उत्साह र प्रेरणा मिल्ने विश्वास छ”, शर्माले भने । खेलाडी तथा खेलसम्बन्धी सङ्घसंस्थाको योगदानको कदर गर्दै प्रदेश खेलकुद पदक प्रदान गरिने जनाउँदै उनले जुनियर तथा सिनियर खेलाडीका लागि रोजगारीका अवसर सृजना गर्न सम्बन्धित निकायसँग आग्रह गरे ।

गण्डकी प्रदेश ह्याण्डबल सङ्घका अध्यक्ष केशव पाठकले विद्यालयस्तरबाटै प्रतिभावान खेलाडीको पहिचान, क्षमता विकास र प्रतिस्पर्धात्मक वातावरण सृजना गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए ।
प्रतियोगिताका विजेता छात्र तथा छात्रा टोलीले समान नगद २५ हजार, उपविजेताले रु १५ हजार र तेस्रो हुने टोलीले रु १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्तालाई जनही रु तीन हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।