काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुनले आत्मदाह गर्ने मुगुका २५ वर्षीय गणेश नेपालीको मृत्युको घटनाले राज्यको अवस्थामाथि गम्भीर प्रश्न उठाएको बताएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसद पुनले प्रधानमन्त्रीकै विगतको अभिव्यक्ति स्मरण गराउँदै सरकारसँग जवाफ माग गरेका हुन्।
उनले सामाजिक सञ्जालमा भाइरल भइरहेको प्रधानमन्त्रीको २०७९ साल माघ १२ गते (२६ जनवरी २०२३) को स्टाटस उदृत गर्दै राज्यको भूमिकामाथि प्रश्न उठाए।
उनले भने, ‘एकजना नागरिक आफूले देखेको प्रगतिका लागि सक्ने सबै कर्म गर्छन्। एकजना नागरिक आफूले चिनेका सबैलाई आफ्नो विगत र आगत वर्णन गर्दै आत्महत्या गर्न लागेको खबर गर्छन्। एकजना नागरिक संसद भवनको अगाडि आफूमाथि पेट्रोल खन्याएर आत्मदाह गर्छन्। त्यो आत्मदाहका धेरै कारण र संकेत होलान्, तर सबैभन्दा ठूलो कारण राज्य हो र सबैभन्दा भयानक संकेत राज्यको चरम असफलताको हो।’
पुनले प्रधानमन्त्री नयाँ आशा र विश्वासका साथ जनमत लिएर आएको उल्लेख गर्दै अहिलेको घटनाले राज्यको भूमिकामाथि प्रश्न खडा गरेको बताए।
उनले भने, ‘प्रधानमन्त्रीज्यू हुनुहुन्छ, नयाँ आशाका साथ, नयाँ विश्वासका साथ उहाँ जनमतका साथ आउनुभएको छ। यो के राज्यको असफलता हो ? या गरिब, दुःखी, विपन्न र सुकुम्बासीहरू राजधानी वा देशभरि बाँच्न पाउँदैनन्, गरी खान पाउँदैनन् भन्ने संकेत हो?’
उनले सत्तामा पुगेपछि प्रधानमन्त्रीको दृष्टिकोण परिवर्तन भएको हो कि भन्दै जवाफ माग गरे।

प्रतिक्रिया