काठमाडौँ । इलामका प्रेमप्रसाद आचार्यले २०७९ माघ १० गते नयाँबानेश्वरस्थित संसद भवनमा संसद बैठक चलिरहेका बेला आत्मदाहको प्रयास गरे । गम्भीर रूपमा घाइते भएपछि कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा आचार्यको भोलिपल्ट निधन भयो । आचार्यले हरेक काम गर्ने प्रयास गर्दै कतैबाट सफलता पाउन नसकेको कारण आत्महत्या गर्नुपरेको सामाजिक संजालमार्फत उल्लेख गरेका थिए । आचार्यले आत्महत्या गरेका बेला प्रचण्डको नेतृत्वमा सरकार थियो । उपप्रधान तथा गृहमन्त्री थिए रवि लामिछाने । अनि काठमाडौँको मेयर थिए अहिलेका प्रधानमन्त्री बालेन साह ।
यसको सबैभन्दाबढी आलोचना बालेन साहले गरेका थिए । उनले सामाजिक संजालमा यस्तो लेखेका थिएः
एकजना नागरिक आफुले देखेको प्रगतिको चाहनाका लागि सक्ने सबै कर्म गर्छन् । एकजना नागरिक आफूले चिनेको वा जानेको सबैलाई आफ्नो विगत र आगत वर्णन गरेर आत्महत्या गर्न लागेको खबर गर्छन् । एकजना नागरिक संसद भवनको अगाडि आफूमाथि पेट्रोल खन्याएर आत्मदाह गर्छन् । त्यो आत्मदाहका धेरै कारण र धेरै संकेतहरु होलान् तर सबै भन्दा ठूलो कारण राज्य हो । र, सबैभन्दा भयानक संकेत राज्यको चरम असफलताको हो । उनको व्यवसायमा, उनको निराशामा, उनको सहयोगको याचनामा, उनको सुरक्षामा, उनको उद्दारमा, उनले भोगेको हरेक चरणमा राज्य असफल भएको छ । राज्यका हरेक तप्का, निकाय र अंगहरु असफल भएका छन् ।
नागरिककारुपमा, जनप्रतिनिधिकारुपमा, सत्ताका अगुवाकारुपमा, सञ्चारमाध्यमकारुपमा हामी सबै असफल भइरहेका छौँ । नागरिकले गर्नुपर्ने सामान्य दायीत्व पुरा गर्नु पर्ने चेत हाम्रो छैन । हामीलाई नियम नमान्दा र पालो मिच्दा असामान्य हो भन्ने लाग्दैन । जनप्रतिनिधिकारुपमा नियम पालना गर्न र गराउन सफा नियतले अगाडि बढ्ने हिम्मत हाम्रो छैन । प्यारो नभइएला र अर्को पटक फेरि छानिन नपाइएला कि भन्ने शंकामा नमिठो बोल्नु हुन्न भन्ने सोचाइ छ । सत्ताका अगुवाकारुपमा त्यो सबै समिकरणलाई प्रगतिका लागि चलायमान बनाउनु भन्दा सत्तास्वार्थका लागि राजनीतिलाई अस्थिर बनाउनमा ध्यानमग्न छौँ । सञ्चारमाध्यमकारुपमा कसैको व्यवसाय प्रवद्र्धन गर्न वा सहयोग हुने थप अध्ययन र समाचारहरु तयार पार्ने बारेमा रुचि छैन । कुनै अमुक पदमा भएको व्यक्तिले फेसबुकमा के लेख्छ, के कमेन्ट गर्छ भनेर ठूला ठूला समाचार बनाउनुमा व्यस्त छौँ ।
एकैपल्ट यति धेरै कुराहरु गलत बाटोमा लागेर एकैपल्ट असफल हुँदा प्रेमप्रसाद आचार्यले त्यसको विद्रोह गरेका हुन् । त्यो विद्रोह हाम्रो समयको पछिल्लो सबैभन्दा विस्मयकारी घटना हो । उनीप्रति हार्दिक श्रद्धाञ्जली तथा उनको परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु ।
कुनै पनि अर्को व्यक्तिले प्रेमप्रसाद आचार्यको जस्तो नियति भोग्न नपरोस् भनेर महानगरले सिप सिक्ने र ति सिपहरुको जीवनस्तर वृद्धिमा प्रयोग हुने संरचनाहरुको निर्माण गर्नेमा असाध्यै संवदेनशील भएर काम गरिरहेको छ भने उनको मागहरू मध्ये काठमाडौँ महानगरको क्षेत्राधिकारमा पर्ने कामहरू पनि हुदै छन् । नागरिक तहदेखि संघीय सरकारसम्म सबैले आफ्नो भूमिकाबाट कठोर भइ निभाउन अपील गर्दछु । सबैले नियमको पालना गरौँ । सबैले नियमभित्र रहेर व्यवहार गरौँ । फेरि पनि प्रेमप्रसाद आचार्यप्रति हार्दिक श्रद्धाञ्जली छ ।
गृहमन्त्री रवि लामिछानेले पनि विगतका सरकारलाई दोष देखाएर टिप्पणी गरेका थिए । उनले लेखेका थिएः
एउटा नागरिकले अत्मदाह गर्नुपर्ने परिस्थितिको वर्णन गर्न अब के नै बाँकी रह्यो र । यस्तै परिस्थितिका कारण शान्त विद्रोह गरेर हामी हिजो भर्खर राजनीतिमा र आज भर्खर सरकारमा सामेल छौँ । मलाई थाहा छ, आत्मदाहको निर्णय हिजोदेखिको निराशा र पीडाको परिणाम हो । दुःख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँहरुको आगमनले समेत तपाईँमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आत्मदाहको निर्णय फेर्न सकेन। यसमा हामी दोषी छौं, म दोषी छु । प्रेम आचार्यजी, नयाँ राजनीतिक दल र नेताको रुपमा तपाईँमा आशा जगाउन सकिनौं, हामीलाई माफ गर्नुहोला । तपाईंको आत्माले चीर शान्ति पाओस्, परिवारलाई यो पीडा सहने शक्ति मिलोस्।
हिजो प्रेम आचार्यले आत्मदाह गर्दा तत्कालीन सरकार र राज्य प्रणालीको असफलताको परिणाम ठहर गरेका ‘बालेन –रवि’ अहिले दुई तिहाइको सरकार हाँकिरहेका छन् । तर ‘गणेश नेपाली’को आत्मदाह प्रयासमा यिनको वाक्य फूटेको छैन। चुपचाप छन् । सरकारमा हुँदा र नहुँदाको चरित्रमा प्रष्ट देखिने फरक तथा लाजै नमानी त्यसलाई पचाउन सक्ने शासकीय प्रवृत्ति नै नेपाली राजनीतिको समस्याको जरो हो । केही त बोलौँ प्रधानमन्त्रीज्यू, अनि सभापतिज्यू गणेश नेपालीको आत्मदाहकाबारेमा ।

प्रतिक्रिया