नेपालगन्ज। यसवर्ष पर्याप्त वर्षा नहुँदा अहिलेसम्म बाँकेमा करिब ३० प्रतिशत मात्रै धान रोपाइँ भएको छ । जिल्लाका केही भू–भागमा सिक्टा सिँचाइ आयोजना र भूमिगत पानीको प्रयोग गरी रोपाइँ गरिए पनि अधिकांश क्षेत्रका किसानले सिँचाइ अभावमा आकाशे पानीको भरमा रोपाइँ गर्नुपर्ने बाध्यता रहेको छ ।
समयमै वर्षा नहुँदा किसानले नेपालगन्ज, खजुरा क्षेत्रमा कम रोपाइँ गरेको कृषि ज्ञान केन्द्र बाँकेकी सूचना अधिकारी तथा वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माले जानकारी दिइन्।
उनका अनुसार जिल्लामा असारको दोस्रो सातादेखि सुरु गरिएको रोपाइँ अहिले पनि जारी छ । रोपाइँ भएकामध्ये अधिकांश किसानले सिक्टा सिँचाइ र भूमिगत पानीको प्रयोग गरी रोपेको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ ।
मसिनो र मध्यम जातका धानखेती गर्ने किसानलाई रोपाइँमा समस्या भए पनि मोटो धानखेती गर्नेलाई ढिलो वर्षा भए पनि समस्या नहुने शर्माले बताए। ‘केही दिनपहिले वर्षा भएको थियो, तर त्यसपछि ठूलो वर्षा भएकै छैन,’ उनले भने।
उनका अनुसार जिल्लामा अधिकांशले किसानले राधा ४ मोटो धान र केही भारतीय हाइब्रिड जातका धानको रोपाइँ गर्दै आएका छन् । बाँकेमा कुल खेतीयोग्य ५५ हजार ८२६ हेक्टर क्षेत्रमध्ये ३३ हजार ७८० हेक्टरमा धानखेती हुँदै आएको छ ।
ढिलो वर्षा भएका कारण रोपाइँ केही ढिलो भए पनि त्यहाँको चलनअनुसार हालसम्मको रोपाइँको अवस्था सन्तोषजनक रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । बाँकेमा किसानले भदौ पहिलो सातासम्म धान रोपाइँ गर्दै आएको इतिहास छ ।
सिक्टा सिँचाइ सुविधा उपलब्ध भएका क्षेत्र तथा पम्पसेट एवं मोटरको प्रयोग गरी धानको ब्याड राखेका किसानले वर्षा हुनासाथ धान रोपाइँ गरेका छन् । हालसम्म जिल्लाको कोहलपुर नगरपालिका, बैजनाथ र राप्तीसोनारी गाउँपालिकामा सबैभन्दा बढी रोपाइँ भएको छ ।
खजुराका कृषक शरण कर्माचार्यले परम्परागत रुपमा ढिलो धान रोप्ने चलन भएका कारण पनि कतिपय स्थानमा खेतमा पानी भए पनि बीउ ठूलो नभएका कारण किसानले रोपाइँ गर्न नसकेको बताए।

प्रतिक्रिया