अपमान


धरती भुसाल

माया मेरो सर्वस्व ।
माया मेरो आवश्यकता ।
खोइ किन हो, मायाकी भोकी छु म ।
माया नै प्रिय लाग्छ मलाई—निस्वार्थ माया ।
तर,
मायामा स्वार्थको गन्ध कत्तिपनि मन पर्दैन मलाई ।

जसले आफ्नो जीवन नै स्वाभिमानका लागि,
आत्मसम्मानका लागि खर्च गर्‍यो,
आज,
उसैले व्यक्त गरेको माया अपमान बन्यो ।

आज आँसु
मेरो माया अपमानमा बदलिँदा आएन,
मुटु नै निचोर्दा पनि व्यक्त गर्न नसक्दा आयो ।

अफसोस छ,
मलाई अब जिन्दगीको के भरोसा ?
सन्तानलाई पनि आमाको सुवास के छर्न सकिएला र ?

हे सद्गुरु !
के माया गर्न जान्दिन म ?
के सम्पूर्ण प्राणीलाई माया गर्दिन म ?

हो, मेरो मनभित्र
कसैलाई काखा र पाखा भन्ने नै हुँदैन ।
यो मेरो र त्यो अर्काको भन्ने नै हुँदैन ।

सबैलाई एकनास माया गर्नु
मेरो गल्ती हो भने,
गल्ती नै सही ।
अझ बढी गल्ती गर्न सकूँ म ।

गल्तीलाई गल्ती र साँचोलाई साँचो भन्नु
अपमान हो भने,
अपमान नै सही ।
अझ बढी अपमानका पीडा पिउन सकूँ म ।

हो, म सबैलाई अपमान गर्छु ।
तिमी के गर्छौ गर,
म पनि आफ्नो बाटो तय गर्छु ।

यदि सत्यको जित हुन्छ भने,
यदि निस्वार्थ मायाको जित हुन्छ भने,
त्यो दिन पर्खिएर बस्छु म,
जहाँ
तिमीले मेरो मायाको अनुभूतिलाई
पोख्न पाउने छैनौ ।

निरन्तर बगिरहने छौ
पश्चातापका आँसु ।
त्यतिबेला,
यी हातले कसरी थाम्न सक्लान् तिम्रा ती आँसुहरू ?
कसरी सुन्न सक्लान् तिम्रा ती व्यथाहरू ?

जुन बेला
म धेरै टाढा गएकी हुनेछु ।
तिम्रो मानसपटलको क्षितिजमा समेत
पाउने छैनौ मलाई ।

म बाध्य हुने छैन
तिम्रा अप्ठ्यारामा साथ दिन ।
म बाध्य हुने छैन
कर्तव्यका नाममा
पीडाका भेलहरू थामेर बस्न ।

त्यसैले,
समय छँदै उपाय बताऊ तिमी ।
म तिम्रो उपायमा अटाउने प्रयत्न गर्नेछु ।

अन्यथा,
हामी नदीका दुई किनारा ।
किनारा हुन देऊ मलाई ।
बस्, किनारा नै हुन देऊ मलाई ।
॥ धन्यवाद ॥

(Flourish Counseling Hub की संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत भुसालले शिक्षा, परामर्श तथा युवा सशक्तीकरणको क्षेत्रमा दुई दशकभन्दा बढी समयदेखि शिक्षण, मार्गदर्शन र परामर्शमार्फत उल्लेखनीय योगदान पुर्‍याउँदै आएकी छन् ।)