टेरामक्स खरिद प्रकरणमा मोहन बस्नेतले पाए सफाइ


काठमाडौँ । विशेष अदालतले टेरामक्स खरिद प्रकरणमा पूर्वसञ्चारमन्त्री मोहन बस्नेतले सफाइ पाएका छन् । बिशेष अदालतले उनलाई सोमबार सफाइ दिएको हो । सोमबार विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले बस्नेतलाई सफाइ दिएको हो ।

खरिद प्रक्रियामा प्रत्यक्ष संलग्न नभएको भन्दै अदालतले उनलाई सफाइ दिएको हो । इजलासले प्राधिकरणका तत्कालीन अध्यक्ष दीगम्बर झा, सदस्यहरू धनराज ज्ञवाली र टीका उप्रेतीलाई दोषी ठहर गरेको छ । झालाई एक वर्ष तथा धनराज ज्ञवाली र टिकाप्रसाद उप्रेतीलाई ६ महिना कैद र ५० हजार जरिवाना सजाय भएको छ। झा प्राधिकरणका तत्कालीन अध्यक्ष तथा ज्ञवाली र उप्रेती सदस्य हुन् ।

त्यस्तै, अदालतले पुरुषोत्तम खनाल, अच्युतानन्द, मिश्र, सुरेन्द्रलाल हाडा, विजयकुमार राय, रेवतीराज पन्थ, दिपेश आचार्य, सुरेश बस्नेत, हिरन्यप्रसाद वस्ताकोटी, संदीप अधिकारी तथा भ्यानराईज सरोसुलका सिइओ तथा स्थानीय एजेन्ट लगायतलाई पनि अदालतले सफाइ दिएको छ । नेपाल दुरसञ्चार प्राधिकरणमातहत टेरामक्स खरिदमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्ष मुद्दा दायर गरेको थियो।