काठमाडौँ । सशस्त्र प्रहरी बलले सञ्चालन गर्दै आएको कीर्तिपुरस्थित विद्यालयको करिब ११ करोड रुपैयाँ अपचलन प्रकरणमा लेखा अधिकृत रहेकी प्रहरी निरीक्षक कल्पना गुरुङ र उनका सहयोगी लीला लामा पक्राउ परेका छन् ।
सशस्त्र प्रहरी बलको आन्तरिक छानबिन प्रतिवेदनका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंले शनिबार दुवै जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले सशस्त्र प्रहरीको पत्रका आधारमा दुवैलाई नियन्त्रणमा लिएर विद्यालयको रकम हिनामिनासम्बन्धी विस्तृत अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।
सशस्त्र प्रहरी बल प्रधान कार्यालयले डीआईजी युवराज अर्यालको नेतृत्वमा गठन गरेको छानबिन समितिले इन्स्पेक्टर गुरुङले गैरकानुनी रूपमा विद्यालयको रकम अपचलन गरेको निष्कर्ष निकालेपछि पक्राउ प्रक्रिया अघि बढाइएको हो ।
छानबिनका क्रममा गुरुङले विद्यालयको रकम आफ्ना निकटस्थ लीला लामाको खातामा पटक–पटक स्थानान्तरण गरेको खुलेको छ । गुरुङ ६ वर्षसम्म लेखापालको जिम्मेवारीमा रहेको देखाएको छ ।

प्रतिक्रिया