शताब्दी पुरुष डा गौरीशङ्करलाल दासको स्वास्थ्य क्षेत्रमा अतुलनीय योगदान छः सभापति थापा


काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शताब्दी पुरुष डा गौरीशङ्करलाल दासले नेपालको स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदान अतुलनीय रहेको बताएका छन्।

काठमाडौं महानगरपालिका–७ द्वारा आज आयोजित ‘दिव्य शताब्दी पुरुष डा गौरीशङ्करलाल दासको रथारोहण एवं सुवर्णपुर सम्मान समारोह–२०८३’ मा उनले डा दासको सेवा र समर्पणको उच्च प्रशंसा गरे।

सभापति थापाले डा दासले भारतमा चिकित्सा शिक्षा हासिल गरेपछि काठमाडौंस्थित वीर अस्पताललगायत विभिन्न सरकारी अस्पतालमा लामो समयसम्म नागरिकको उपचारमा समर्पित भएर सेवा दिएको स्मरण गरे।

“डा दासको योगदान अतुलनीय छ । उहाँले जीवनभर स्वास्थ्य सेवामार्फत समाजप्रति पुर्‍याउनुभएको योगदान भावी पुस्ताका लागि प्रेरणाको स्रोत हो,” सभापति थापाले भने।

सभापति थापाले डा दासको योगदानलाई सदैव सम्मान र स्मरण गर्नुपर्ने उल्लेख गर्दै कार्यक्रम आयोजना गरी सम्मान गरेकोमा काठमाडौँ महानगरपालिका–७ का वडाध्यक्ष विमल हाडा, जनप्रतिनिधि, कर्मचारी तथा सम्पूर्ण वडावासीप्रति धन्यवादसमेत व्यक्त गरे।

कार्यक्रममा काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले पनि डा दासले काठमाडौंवासीको स्वास्थ्य सेवामा पुर्‍याएको योगदान ऐतिहासिक रहेको बताए। “डा दासले काठमाडौंवासीको स्वास्थ्य क्षेत्रमा ठूलो योगदान गर्नुभएको छ । उहाँको सेवा र समर्पणलाई महानगरवासीले सधैँ सम्मानपूर्वक सम्झिरहनेछन्,” उनले भने।

कार्यक्रमअन्तर्गत शताब्दी पुरुष डा गौरीशङ्करलाल दासलाई चाबहिलस्थित उहाँकै निवासबाट परम्परागत बग्गीमा रथारोहण गराई विभिन्न स्थानको परिक्रमा गराइएको थियो। समारोहमा पूर्वउपराष्ट्रपति परमानन्द झा, डा दासका परिवारजन, आफन्त, विभिन्न विशिष्ट व्यक्तित्व तथा स्थानीय सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।