म्याग्दीको मालिकाका १३ सय घरमा खानेपानी सुविधा विस्तार


म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाका एक हजार ३०० भन्दा बढी घरधुरीमा निजी धारा जडान गरेर खानेपानी सुविधा विस्तार गरिएको छ ।

मालिकाको १, २, ३ र ७ नम्बर वडामा पर्ने निस्कोट, रुम, डाडागाउँ र बिम डाडागाउँका एक हजार ३३० घरमा निजी धारा जडान गरेर खानेपानी वितरण गरिएको हो । नेपाल स्वास्थ्यका लागि पानी (नेवा) र मालिका गाउँपालिकाको आर्थिक÷प्राविधिक सहयोग तथा उपभोक्ताहरूको श्रमदानमा ‘एक घर, एक धारा’ मार्फत खानेपानी सुविधा विस्तार भएको गाउँ कार्यपालिकाका प्रवक्ता अनुप गौचनले जानकारी दिए ।

“सङ्घीय र प्रदेश सरकार तथा विभिन्न परियोजनामार्फत यसअघि खानेपानी योजना निर्माण भएको ४, ५ र ६ सहित सबै वडाका छुटेकाका घरपरिवार पहिचान गरेर खानेपानी सुविधा विस्तारको तयारीमा छौँ”, उनले भने, “छुटेकाहरूलाई आगामी आर्थिक वर्षको बजेटमार्फत सम्बोधन गरी शतप्रतिशत घरमा स्वच्छ र सफा खानेपानी सुविधा विस्तार गर्ने लक्ष्य छ ।”

सातवटा वडा रहेको मालिका गाउँपालिकामा चार हजार ५९० घरपरिवारमा १८ हजार ३३२ जनसङ्ख्याको बसोबास छ । पानीको मितव्ययी, व्यवस्थित र दिगो प्रयोगका लागि प्रत्येक धारामा मिटर जडान भएको छ । धाराको छेउमा भाँडा सुकाउने चाङ निर्माण छ । मालिका गाउँपालिका–२ मा ७४९ घरपरिवारमा खानेपानी सुविधा विस्तार भएको वडाध्यक्ष उदयकुमार बुढाथोकीले बताए ।

“विसं २०८२ मा निर्माण भएको खवाङ्ग शेरेधारा, धुल्वाङ र घाङलेपानी खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजनामार्फत ३३८ घरपरिवारमा खानेपानी विस्तार भएको छ”, उनले भने, “आव २०८०/८१ मा ठूलोरुमका २७३, कलात भनारीमा ७४ र विल्वाङमा ६४ घरमा ‘एक घर, एक धारा’सहितको खानेपानी सुविधा विस्तार भएको थियो ।”

वडा नं १ निस्कोटमा १२५ र वडा नं ३ को डाडाँगाउँ, किटेनी, औल, सराग्दी, स्यागलुङका २२५ घरपरिवार, पात्लेका १२२ र लुुम्पीपारका ५३ घरपरिवार लाभान्वित भएका छन् । वडा नं ७ को डाडाँगाउँमा ५६ घरमा एक घर, एक धारामार्फत खानेपानी सुविधा विस्तार भएको छ । घरमै खानेपानी सुविधा भएपछि समयको बचत, सार्वजनिक धारामा पालो पर्खनुपर्ने र कुवाखोल्साको दूषित पानी प्रयोग गर्नुपर्ने समस्याको अन्त्य भएको मालिका–२ रुमकी विपना पटेलले बताए ।