बैंक तथा वित्तीय संस्थाका सीईओको तोकियो तलब भत्ताको नयाँ मापदण्ड


काठमाडौँ । नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतको तलब, भत्ता तथा अन्य सुविधासम्बन्धी मार्गर्दशन २०८३ जारी गरेको छ ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेलले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतको तलब, भत्ता तथा अन्य सुविधासम्बन्धी मार्गदर्शन २०८३ शुक्रबार जारी गरिएको जानकारी दिए । मार्गदर्शनमा जसमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त गरेका ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका विकास बैंक, ‘ग’ वर्गका फाइनान्स कम्पनी र ‘घ’ लघुवित्त कम्पनीलाई समेटर मार्गनिर्देशन जारी गरेको हो ।

‘इजाजतपत्र प्राप्त संस्थाको सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृतलाई नियुक्त गर्दाका बखत नै निजले पाउने वार्षिक तलब, भत्ता तथा अन्य सुविधाको सम्बन्धमा सम्झौतापत्रमा स्पष्ट उल्लेख गर्नुपर्नेछ’’, मार्गदर्शन निर्देशिकामा भनिएको छ ।

बैंकले सीईओको तलबभत्ता विगत ३ आर्थिक वर्षको औसत कर्मचारी खर्चको २ प्रतिशतभन्दा धेरै हुन नहुने व्यवस्था गरेको छ । वाणिज्य बैंकका सीईओका हकमा विगत ३ वर्षको औसत कर्मचारी खर्चको बढीमा २ प्रतिशतसम्मको सीमा तोकेको छ ।

यस्तै गत वर्षको सम्पत्तिको ०.०१५ प्रतिशतभन्दा धेरै हुन नहुने व्यवस्था गरेको छ । त्यसैगरी विकास बैंकका हकमा विगत ३ आर्थिक वर्षको औसत कर्मचारी खर्चको बढीमा ३ प्रतिशतसम्म हुन सक्ने व्यवस्था गरेको छ । गत वर्षको कुल सम्पत्तिको भने ०.०२० प्रतिशतसम्म हुन सक्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।