रोयटर्स । ग्रेटर म्यानचेस्टरका मेयर एन्डी बर्नह्याम बेलायती संसदमा निर्वाचित भएका छन् । उनको जितसँगै प्रधानमन्त्री कियर स्टार्मरको नेतृत्वलाई चुनौती दिने सम्भावना बलियो बनेको छ।
‘किङ अफ द नर्थ’ उपनामले परिचित बर्नह्यामले उत्तरपश्चिम इङ्ग्ल्यान्डको मेकरफिल्ड निर्वाचन क्षेत्रमा २४ हजार ९२७ मत प्राप्त गर्दै विजय हासिल गरे। निगेल फराजको रिफर्म यूके पार्टीका उम्मेदवार १५ हजार ६९६ मतसहित दोस्रो स्थानमा रहे।
संसदमा प्रवेशसँगै बर्नह्याम अब लेबर पार्टीको नेतृत्व परिवर्तनका लागि हुने सम्भावित प्रतिस्पर्धामा सहभागी हुन योग्य बनेका छन्। उनले विजयपछि पार्टीलाई परिवर्तनका लागि अन्तिम अवसर रहेको चेतावनी दिए।
‘म आफ्नै पार्टीलाई भन्छु, परिवर्तन गर्ने यो अन्तिम मौका हो। दोस्रो अवसर आउने छैन,’ उनले भने। सार्वजनिक सेवाको राष्ट्रियकरणका समर्थक तथा नवउदारवादी आर्थिक नीतिका आलोचक बर्नह्यामले यसअघि नै स्टार्मरलाई प्रतिस्थापन गरी राजनीति परिवर्तन गर्ने इच्छा व्यक्त गर्दै आएका छन्।
सर्वेक्षणहरूका अनुसार ५६ वर्षीय बर्नह्याम लेबर पार्टीका सबैभन्दा लोकप्रिय नेतामध्ये एक हुन्। पार्टी सदस्यहरूको मतबाट हुने नेतृत्व प्रतिस्पर्धामा उनी बलिया दाबेदार मानिन्छन्।
दुई वर्षअघि भारी बहुमतसहित चुनाव जितेका ६३ वर्षीय स्टार्मर हाल बेलायतका कम लोकप्रिय प्रधानमन्त्रीमध्ये गनिन्छन्। विभिन्न विवाद, नीतिगत यू–टर्न र निर्णयहीनताको आरोपका कारण उनको लोकप्रियता घट्दै गएको छ।
गत महिना भएको स्थानीय निर्वाचनमा लेबरले ठूलो क्षति बेहोरेपछि पार्टीका करिब एक चौथाइ सांसदहरूले स्टार्मरलाई पद छाड्न आग्रह गरेका छन्। पछिल्ला साताहरूमा रक्षा तथा स्वास्थ्यमन्त्रीसहित केही वरिष्ठ नेताहरूले पनि उनको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएका छन्।
यद्यपि स्टार्मरले नेतृत्व छाड्ने संकेत दिएका छैनन्। उनले कुनै पनि नेतृत्व प्रतिस्पर्धामा आफू उम्मेदवार बन्ने बताउँदै पार्टीलाई विभाजनकारी चुनावबाट उत्पन्न हुन सक्ने ‘अराजकता’ प्रति सचेत गराएका छन्।

प्रतिक्रिया