कङ्गोमा ८०८ जनामा इबोलाको सङ्क्रमण पुष्टि, मृत्यु हुनेको सङ्ख्या १९२ पुग्यो


किन्सासा । प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) मा इबोलाबाट सङ्क्रमितको सङ्ख्या ८०८ पुगेको छ भने १९२ जनाको मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

इबोला भाइरस सङ्क्रमणको प्रकोपको स्थितिबारे जारी प्रतिवेदन नम्बर ३१ अनुसार आइतबार २६ थप व्यक्तिमा सङ्क्रमण पुष्टि भएको र ११ जनाको मृत्यु भएको छ ।

यसले सङ्क्रमणको मृत्यु दर २३.८ प्रतिशत पुर्याएको छ । आइतबारसम्म कुल ३६३ बिरामीहरू आइसोलेसनमा रहेका थिए भने ४८ बिरामीहरू प्रकोप सुरु भएदेखि निको भएका थिए ।

इटुरी, उत्तरी किभु र दक्षिण किभु गरी तीन प्रभावित प्रान्तमा यो इबोला नियन्त्रणको लागि अभियान जारी छ । बुन्डिबुग्यो इबोला भाइरसका कारण फैलिएको प्रकोप देशमा मे १५ मा आधिकारिक रूपमा घोषणा गरिएको थियो।