‘..तर यी सबै कुरामा बेखबर हाम्रा बिन्दास प्रधानमन्त्री ‘जिस्किँदै’ हुनुहुन्छ’


काठमाडौँ । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले नेपाली कांग्रेस र नेकपा एमाले राष्ट्रिय मुद्दामा केन्द्रित हुनुपर्ने बताएका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत ज्ञवालीले आन्तरिक उल्झनमा रहेका कांग्रेस–एमालेको ध्यान मुख्य राष्ट्रिय मुद्दाहरूमा केन्द्रित हुनुपर्ने बताएका हुन् ।

उनले भनेका छन्, ’नेकपा (एमाले) र नेपाली कांग्रेसजस्ता पार्टीहरू यतिबेला केही आन्तरिक समस्याहरूसँग जुझिरहेका छन् । लोकतान्त्रिक पार्टीहरूभित्र नीति, निर्णय, सङ्गठन, शैली र नेतृत्वका बारेमा मतान्तर या विमतिहरू देखिनु अस्वाभाविक होइन । यी समस्याको समाधानका आफ्नै विधिहरू छन् । आशा छ, समस्याहरू विधिसम्मत ढङ्गले समाधान हुनेछन् र पार्टीहरूको आन्तरिक एकता थप सुदृढ हुनेछ ।’

यस्तो छ ज्ञवालीको भनाई

नेकपा एमाले र नेपाली काङ्ग्रेस जस्ता पार्टीहरू यतिबेला केही आन्तरिक समस्याहरूसँग जुझिरहेका छन् । लोकतान्त्रिक पार्टीहरूभित्र नीति, निर्णय, सङ्गठन, शैली र नेतृत्वका बारेमा मतान्तर या विमतिहरू देखिनु अस्वाभाविक होइन । यी समस्याको समाधानका आफ्नै विधिहरू छन् । आशा छ, समस्याहरू विधिसम्मत् ढङ्गले समाधान हुनेछन् र पार्टीहरूको आन्तरिक एकता थप सुदृढ हुनेछ ।

तर आन्तरिक विषयहरूको सामना गरिरहेको बेला हाम्रो ध्यान मुख्य राष्ट्रिय मुद्दाहरूमा केन्द्रित हुनैपर्छ । हामी गम्भीर भूराजनीतिक भूमरीतिर धकेलिँदै गइरहेका छौँ । सीमामा चिया निकासी रोकिँदा हजारौँ श्रमिक र सयौँ उद्यमीहरू सङ्कटमा पर्नुभएको छ । दुई महिना अगाडि वर्वरतापूर्वक लखेटिएका सुकुम्वासी र अव्यवस्थित बसोबासीहरू होल्डिङ सेन्टरहरूमा वेवारिसे जस्तै हुनुभएको छ । धान रोप्ने बेला मलको अभाव यथावत् छ । महङ्गी भयावह बनिरहेको छ ।

तर यी सबै कुरामा बेखबर हाम्रा बिन्दास प्रधानमन्त्री ‘जिस्किँदै’ हुनुहुन्छ र उहाँको ‘देश बनाउने टोली’ व्यवसायीहरूका खुट्टा भाँच्ने धम्की दिँदैछ । गरिखानेहरूको ट्याम्पो भीरबाट गुडाइदिएर ठुलै शत्रुमाथि ‘सर गरेको’ आत्मरतिमा रमाइरहेको छ । राष्ट्रपति संस्थाको अपमान । संसदको अवमूल्यन । मतदाताहरूप्रति उपेक्षा । आफ्नै पार्टीप्रति वेवास्ता । लोकतान्त्रिक अधिकारहरूको सङ्कुचन । संवैधानिक अङ्गहरूमाथि हस्तक्षेप । राजनीतिक प्रतिशोध । राष्ट्रसेवकहरूको हुर्मत । समग्रमा, मुलुक अलोकतान्त्रिक खोँचतिर धकेलिँदै छ । आफ्ना आन्तरिक विषयमा बहस गरिरहेको बेला यी राष्ट्रिय मुद्दाहरू र यिनीहरूप्रतिको हाम्रो दायित्व ओझेलमा नपरोस् भनेर ध्यान दिनैपर्छ । जनतालाई हाम्रा आन्तरिक अजेण्डामा भन्दा माथिका मुद्दामा बढी चासो छ ।