काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारले प्रस्तुत गरेको बजेटले जनअपेक्षा पूरा गर्न नसकेको बताएका छन् । मंगलबारको प्रतिनिधिसभाको बैठकमा उनले वर्तमान सरकारबाट मुलुकको आर्थिक तथा सामाजिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने खालको बजेट आउने अपेक्षा गरिएको भए पनि त्यसो हुन नसकेको बताएका हुन् ।
उनले अर्थमन्त्रीप्रति आफूले उच्च अपेक्षा राखेको उल्लेख गर्दै तर बजेट प्रस्तुत भएपछि त्यसले आफूहरूलाई निराश बनाएको बताए । उनले भने,‘यो असाध्यै बलियो सरकारले असाध्यै राम्रो बजेट ल्याउँछ र आमूल परिवर्तनको एउटा कोशेढुंगा बन्छ भन्ने विश्वास लागेको थियो तर विडम्बना त्यस्तो हुन सकेन । विद्वान अर्थमन्त्री टिभीमा देख्दा, बिगतमा वक्तव्यहरु सुन्दा केही गर्नुहुन्छ भन्ने लागेको थियो । तर जब बजेट सदनमा प्रस्तुत गर्नुभयो त्यसको सार चित्तबुझ्दो लागेन । बजेटमा समेटिएका विषयवस्तुभन्दा पनि अर्थमन्त्रीज्यूको एटिच्युडले हामीलाई गम्भीर बनायो । जुन प्रकारको विद्वानमा हुनुपर्ने स्वभाव शैली छ त्यो उहाँमा देखिएन ।’
महरले अर्थमन्त्री प्रतिपक्षप्रति हेपाहा र अपमानजनक शैलीमा प्रस्तुत भएको आरोप लगाउँदै उनले त्यस्तो व्यवहारले अर्थमन्त्रीको विद्वतामाथि नै प्रश्न खडा गरेको बताए। उनले भने,‘उहाँले बजेट गैरजिम्मेवार, हावादारी र भरिएको जस्तो बजेट ल्याउनु भयो । त्यसले दुःखी बनाउनुभयो । जनमतको घोर अपमान गर्नुभयो । म यसप्रति गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु अर्थमन्त्रीज्यूको ।’
उनले अर्थमन्त्री वाग्लेले आफूमाथि प्रश्न उठेपछि फाइल खोल्ने धम्की दिएको भन्दै आपत्ति जनाए । उनले खर्च कटौती प्रस्ताव पेश गर्दै ३५ वर्षका फाइल खोल्न चुनौती दिए ।
उनले भने, ‘अर्थमन्त्री वाग्लेमाथि करका दर हेरफेर गरेको गम्भीर आरोप लागेको छ । विगतमा मन्त्रीमाथि प्रश्न उठ्दा जनार्दन शर्माले राजीनामा दिनुभएको थियो, गोकुल बास्कोटा र शेरबहादुर तामाङले राजीनामा दिनुभएको थियो । अहिलेकाले धम्काउँदै हुनुहुन्छ, फाइल खोल्ने भनेर । ३५ वर्षका काण्ड खोलियोस् । तर अर्थमन्त्रीमाथि संसदीय छानबिन समिति गठन गर्नुपर्छ ।’ महरले यो बजेट कम्युनिस्टको होइन भन्ने अर्थमन्त्री वाग्लेलाई कम्युनिस्ट सरकारले शुरू गरेका सामाजिक सुरक्षा भत्ता कटाएर देखाउन चुनौती दिए ।
उनले भने, ‘एकजना पूर्वप्रधानमन्त्रीलाई गाली शिरोमणिको आरोप लाग्ने गरेको थियो, अर्थमन्त्रीले यहाँ आफूलाई गाली शिरोमणिको रूपमा स्थापित गर्नुभएको छ ।’

प्रतिक्रिया