प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन विपक्षीको माग


काठमाडौं । प्रतिनिधिसभाको बैठकमा विपक्षी दलका सांसदले प्रधानमन्त्रीले दिएको सीमासम्बन्धी विषयको अभिव्यक्तिको विरोध गर्दै जवाफ मागेका छन् । विपक्षी दलका सांसदहरुले प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरेका हुन् ।

बैठकमा नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रमेश हमालले प्रधानमन्त्रीले आफ्नो विवादित अभिव्यक्ति नसच्याए आन्दोलनको स्वरूप फेर्ने चेतावनी दिए । उनले भने, ‘हामीले भनिरहेका छौँ यो संसद्को रेकर्डबाट प्रधानमन्त्रीको  अभिव्यक्ति हटाइयोस् । तर नहटाउँदा हामीले विरोध जारी राख्नुपरेको छ । हामीले विरोधको यो रूप यसैगरी गर्नुपर्ने हो कि परिवर्तन गर्नुपर्ने हो, सभामुखले यथाशीघ्र रुलिङ गर्नुपर्छ ।’

त्यस्तै उनले परराष्ट्रमन्त्रीलाई लक्षित गर्दै हाल उठिरहेको त्रिदेशीय सीमासम्बन्धी विषयमा चीनसँग कुरा भएको छ कि छैन भन्नेबारे स्पष्ट जानकारी दिन माग गरे ।

उनले नेपालको सार्वभौमिकता र सीमा सुरक्षासँग सम्बन्धित विभिन्न घटनाप्रति सरकारको ध्यानाकर्षण गराउँदै सुस्तामा भारतीय नागरिक प्रवेश गरेको, दार्चुलाको नेपाली आकाशमा हेलिकप्टर प्रवेश गरेको तथा नेपाली चिया निर्यातमा अवरोध सिर्जना भएको विषय उठाए।