प्यालेस्टिनी राष्ट्रपतिका लागि सन् २०२७ को सुरुमा निर्वाचन गर्ने अब्बासको घोषणा


रमल्लाह । प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले यसै वर्षको नोभेम्बरमा विधायिका चुनाव गर्न आह्वान गरेको प्यालेस्टिनी समाचार संस्था वाफाले जनाएको छ । सन् २०२७ को सुरुवातमा राष्ट्रपतिको पनि चुनाव गर्नेगरी तयारी गर्न निर्देशन जारी गरेका छन् ।

प्यालेष्टिनी नेता अब्बासको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “राष्ट्रपतिले यस वर्षको नोभेम्बरमा विधायिका चुनाव गर्न र सन् २०२७ को शुरुमा राष्ट्रपतीय निर्वाचन गर्ने घोषणा गरेका छन् ।

सन् २००५ मा प्यालेस्टाइनको राष्ट्रपतीय निर्वाचनमा विजय हाँसिल गरेका ९० वर्षीय अब्बासले चार वर्षको लागि जनादेशसहित सत्ताको बागडोर सम्हालेका थिए ।

अब्बासले राष्ट्रपतीय अधिकारको प्रयोग गर्दै कार्यकाल थप गरेका थिए । त्यसपछि कुनै पनि राष्ट्रपति चुनाव भएको छैन । कार्यकाल थप्ने उहाँको निर्णयका लागि देश र विदेशमा आलोचना हुँदै आएको थियो ।

अब्बासले आफ्नो आदेशमा भनेका छन्, ‘उहाँ नोभेम्बरमा हुने प्यालेस्टाइन राष्ट्रिय परिषद्को चुनाव आयोजना गर्न पूर्ण रूपमा तयार हुनुहुन्छ ।’ प्यालेस्टाइन राष्ट्रिय परिषद् प्यालेस्टाइन मुक्ति संगठन (पीएलओ) को संसद हो, जसमा प्यालेस्टाइन क्षेत्र र विदेशका ७०० भन्दा बढी सदस्यहरू छन्।

प्यालेस्टाइन क्षेत्रमा पछिल्लो विधायिका चुनाव सन् २००६ मा भएको थियो, जसमा हमासले अब्बासको फताह पार्टीलाई पराजित गरेको थियो ।

फलस्वरूप, अब्बासको प्यालेस्टाइन प्राधिकरणको संसद प्यालेस्टाइन विधान परिषद्को सन् २००७ देखि बैठक हुन सकेको छैन । चुनाव गराउनु अन्तर्राष्ट्रिय समुदायले माग गरेको सुधारको एक हिस्सा हो, जसले प्यालेस्टाइन प्राधिकरणलाई आर्थिक रूपमा समर्थन गर्दछ ।

प्यालेस्टिनी कानुनी अनुसन्धानकर्ता महमुद अल–अफ्रान्जीले प्यालेस्टिनी प्राधिकरणमा निर्वाचन गराउन राजनीतिक इच्छाशक्ति र अन्तर्राष्ट्रिय दबाब दुवै रहेको बताए ।

उनले भने, ‘पूर्वी जेरुसेलम र गाजा पट्टीमा चुनाव हुने सुनिश्चितताको अभाव ‘विधायिका चुनाव गर्नका लागि अवरोध’ बनेको थियो ।’सन् २०२१ मा, अब्बासले क्रमशः त्यस वर्षको मे र जुलाईमा विधायिका र राष्ट्रपति चुनावको घोषणा गरेका थिए ।

सन् १९६७ देखि इजरायलले कब्जा गरेको पूर्वी जेरुसेलममा मतदान हुन सक्छ भन्ने सुनिश्चितता नभएका कारण ती निर्वाचनलाई अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।

सन् २०२३ अक्टोबरमा गाजा युद्ध सुरु भएपछिको पहिलो मतदानमा गत अप्रिलमा प्यालेस्टिनीहरूले कब्जा गरिएको वेस्ट बैङ्कमा नगरपालिका परिषद् प्रमुखहरू चयन गर्न मतदान गरेका थिए ।