पेटभित्र लुकाएर ल्याएको डेढ किलो कोकिनसहित तीन विदेशी नागरिक पक्राउ


काठमाडौं । लागुऔषध नियन्त्रण ब्यूरोले पेटभित्र लुकाएर नेपाल ल्याइएको १ किलो ५०० ग्राम कोकिनसहित तीन जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

ब्यूरोका अनुसार जेठ २६ गते कतार एयरवेजको उडान नम्बर क्यूआर–६४६ मार्फत इथियोपियाबाट दोहा हुँदै काठमाडौं आएका सेनेगलका ४३ वर्षीय अमादु सारलाई शंकास्पद गतिविधिका आधारमा निगरानीमा राखिएको थियो ।

ठमेलस्थित एक होटलमा फेला पारी गरिएको खानतलासीका क्रममा उनको साथबाट मुखमार्फत निलेर पेटभित्र लुकाई ल्याइएका १६ वटा प्लास्टिक कोटेड कोकिन क्याप्सुल फेला परेका थिए। थप अनुसन्धानका क्रममा स्वास्थ्यकर्मीको सहयोगमा उपचार प्रक्रियाबाट पेटभित्र रहेका थप ६० वटा क्याप्सुल निकालिएको ब्यूरोले जनाएको छ ।

जम्मा ७६ वटा क्याप्सुलबाट १ किलो ५०० ग्राम कोकिन बरामद भएपछि सारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा उक्त कोकिन लिन भारतको दिल्लीबाट काठमाडौं आएका दुई महिलाको संलग्नता खुलेपछि उनीहरूलाई पनि जेठ ३१ गते ठमेलबाट पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।

पक्राउ पर्नेमा भारतको दक्षिण दिल्लीस्थित खानपुर गाउँ निवासी ३६ वर्षीया रुबी र ३१ वर्षीया सोनी रहेका छन् । प्रहरीले उनीहरूको साथबाट १ किलो ५०० ग्राम कोकिन, एक थान पासपोर्ट, दुई थान भारतीय आधार कार्ड तथा तीन थान मोबाइल फोन बरामद गरेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको ा ब्यूरोले जनाएको छ।