युक्रेनको ऐतिहासिक मठमा रुसी आक्रमण, कम्तीमा ९ जनाको मृत्यु


रोयटर्स । रुसले युक्रेनको राजधानी किएभमा दुई सातायताकै सबैभन्दा ठूलो हवाई आक्रमण गरेको छ । आक्रमणमा ९ जनाको मृत्यु भएको छ भने युक्रेनको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको किएभ पेचेस्र्क लाभ्रा मठमा आगलागी भएको छ ।

युक्रेनी अधिकारीहरूका अनुसार ड्रोन र क्षेप्यास्त्रमार्फत गरिएको आक्रमणमा किएभका विभिन्न आवासीय भवन तथा विद्युत् संरचनामा क्षति पुगेको छ । आक्रमणका कारण करिब एक लाख ४० हजार उपभोक्ता विद्युत् सेवाबाट वञ्चित भएका छन् ।

सन् १०५१ मा स्थापना भएको तथा युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत किएभ पेचेस्र्क लाभ्रा मठ प्रत्यक्ष आक्रमणबाट गम्भीर रूपमा क्षतिग्रस्त भएको राजधानीको सैन्य प्रशासनले जनाएको छ । युक्रेनी प्रधानमन्त्री युलिया स्विरिडेन्कोले उक्त घटनालाई युक्रेनी जनता र सांस्कृतिक सम्पदामाथिको क्रूर आक्रमणको संज्ञा दिएकी छन् ।

आक्रमणपछि सर्वसाधारणलाई सुरक्षित आश्रयस्थलमा बस्न आग्रह गरिएको थियो । किएभका विभिन्न क्षेत्रमा आगलागी र धुवाँ फैलिएको देखिएको थियो । यो आक्रमण युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग युद्ध अन्त्यका सम्भावनाबारे छलफल गरेको जानकारी सार्वजनिक भएको एक दिनपछि भएको हो ।