इरान-अमेरिका सम्झौताले विश्व बजारमा तेलको मूल्यमा गिरावट


बीबीसी । अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सम्झौता भएको पाकिस्तानले घोषणा गरेपछि सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उल्लेख्य रूपमा घटेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौतापछि विश्व व्यापारका लागि महत्वपूर्ण मानिने होर्मुज जलडमरूमध्य पुनः सञ्चालनमा आउने बताएका छन्।

सोमबार एसियाली कारोबारको सुरुवाती चरणमा ब्रेन्ट क्रुडको मूल्य ४ प्रतिशतले घटेर प्रतिव्यारेल ८३.८१ डलरमा झरेको छ। अमेरिकी बजारमा कारोबार हुने वेस्ट टेक्सास इन्टरमिडियट (डब्लुटिआई) को मूल्य पनि ४.७ प्रतिशतले घटेर ८०.८९ डलरमा पुगेको छ।

पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले अमेरिका–इरान सम्झौतामा हस्ताक्षर गर्ने औपचारिक समारोह जुन १९ मा स्विट्जरल्यान्डमा आयोजना हुने जानकारी दिएका छन्। इरानका उपविदेशमन्त्रीले पनि सरकारी टेलिभिजनमार्फत सम्झौता अन्तिम रूप पाएको पुष्टि गरेका छन्।

यद्यपि ऊर्जा बजार विश्लेषकहरूले सम्झौताका विस्तृत विवरण सार्वजनिक नभएकाले बजारमा अझै केही समय अनिश्चितता कायम रहन सक्ने बताएका छन् ।

अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि हवाई आक्रमण सुरु गरेपछि होर्मुज जलडमरूमध्य प्रभावकारी रूपमा बन्द भएको थियो। इरानले उक्त मार्ग प्रयोग गर्ने जहाजमाथि आक्रमण गर्ने चेतावनी दिएको थियो। विश्वको करिब २० प्रतिशत तेल तथा तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) यही जलमार्ग हुँदै ढुवानी हुने भएकाले यसको अवरोधले विश्व ऊर्जा बजार प्रभावित बनेको थियो।

द्वन्द्व सुरु हुनुअघि प्रतिव्यारेल करिब ७० डलर रहेको ब्रेन्ट क्रुडको मूल्य युद्धका क्रममा १२० डलरसम्म पुगेको थियो। ऊर्जा विज्ञहरूले भने जलमार्ग पुनः सञ्चालनमा आएपनि तेल ढुवानी तत्काल सामान्य अवस्थामा फर्किन समय लाग्ने बताएका छन्।