धनगढी । कैलालीको गोदावरी नगरपालिका–४ स्थित गाईमारे चुरे क्षेत्रमा वन अतिक्रमण हटाउने क्रममा टेम्पो भीरबाट खसेको घटनाबारे डिभिजन वन कार्यालय कैलालीले आफ्नो धारणा सार्वजनिक गरेको छ।
कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिमा सामाजिक सञ्जालमा प्रचार भएजस्तो वन कर्मचारीले सञ्चालनयोग्य टेम्पोलाई जानीजानी भीरबाट नखसालेको स्पष्ट पारेको छ । कार्यालयका अनुसार भीरबाट खसेको संरचना गुडाउन नमिल्ने, चक्का र इन्जिन बिग्रिएको पुरानो कवाडी टेम्पो थियो, जसलाई वन क्षेत्र अतिक्रमण गरी पसल सञ्चालनका लागि प्रयोग गरिएको थियो।
कार्यालयले उक्त क्षेत्र नेपालकै संवेदनशील चुरे भू–भागअन्तर्गत पर्ने सार्वजनिक वन क्षेत्र रहेको उल्लेख गर्दै लामो समयदेखि गैरकानुनी रूपमा वन जमिन अतिक्रमण गरी छाप्रा निर्माण गर्ने गतिविधि भइरहेको जनाएको छ। अतिक्रमण नियन्त्रणका लागि पटक–पटक अभियान सञ्चालन गरिँदै आएको पनि विज्ञप्तिमा उल्लेख छ।
वन कार्यालयका अनुसार करिब एक महिनाअघि सो टेम्पो हटाउन निर्देशन दिँदा अन्य संरचना हटाइए पनि सम्बन्धित व्यक्तिले अटेर गरेका थिए। त्यसपछि वन कर्मचारीले टेम्पोलाई धकेलेर सम्बन्धित व्यक्तिको घरसम्म पुर्याइदिए पनि पुनः सोही स्थानमा ल्याएर पसल सञ्चालन गरिएको दाबी गरिएको छ।
जेठ २९ गते पुनः अतिक्रमण हटाउने अभियानका क्रममा वन टोलीले उक्त टेम्पोलाई पन्छाउने प्रयास गर्दा भिरालो भू–भाग र असन्तुलनका कारण दुर्घटनावश भीरबाट खसेको कार्यालयले जनाएको छ।
डिभिजन वन कार्यालय कैलालीले वन संरक्षण तथा अतिक्रमण नियन्त्रणका लागि कानुनअनुसार सञ्चालन गरिएको अभियानबारे भ्रामक र अतिरञ्जित प्रचार नगर्न तथा सत्यतथ्यका आधारमा सूचना सम्प्रेषण गर्न सबैसँग आग्रह गरेको छ । तपाईँलाई चाहिँ लाग्छ छ वन कार्यालयको स्पष्टीकरण सही हो ?

प्रतिक्रिया