एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड बजेट विनियोजन


काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ मा एक दर्जन सुरुङमार्गको सभ्भाव्यता अध्ययन र निर्माणका लागि ६७ करोड एक लाख बजेट विनियोजन गरेको छ ।

हालै सार्वजनिक गरेको आगामी आर्थिक वर्षका लागि वार्षिक विकास कार्यक्रमअन्तर्गत सो योजना समावेश गरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि ५० करोड बजेट विनियोजन गरेको छ ।

ग्वार्काे सातदोबाटो एकान्तकुना फ्लाइओभरका लागि १२ करोड ६६ लाख छुट्याएको वार्षिक विकास कार्यक्रममा उल्लेख गरिएको छ । त्यसैगरी, सुरुङमार्ग विकास कार्यक्रमका लागि तीन करोड ७७ लाख ८० हजार बजेट छुट्याएको छ ।

मन्त्रालयले टोखा छहरे गुर्जु भन्ज्याङ सुरुङमार्गका लागि ११ लाख ४८ हजार बजेट विनियोजन गरेको छ । यस्तै, विभिन्न प्रस्तावित सुरुङमार्गहरुको सम्भाव्यता अध्ययनका लागि एक लाख ९० हजार बजेट छुट्याएको छ ।

यस्तै, सुर्खेतको भेरी नदीदेखि बर्दियाको दानुवा तालसम्म सुरुङमार्ग अध्ययनका लागि पाँच लाख ६० हजार बजेट विनियोजन गरेको छ ।

उता दोलालघाट–चर्नावती सुरुङमार्गका लागि १८ लाख ९० हजार विनियोजन गरेको छ, भने हात्तीसार–बबई सुरुङमार्गका लागि सात लाख ५६ हजार छुट्याएको छ । खुर्काे–चियाबारी सुरुङमार्गको अध्ययनका लागि तीन लाख ९२ हजार विनियोजना गरेको छ ।

यस्तै, शिवपुर भालुवङ्ग सुरुङमार्गका लागि तीन लाख ९२ हजार रकम छुट्याएको छ । रानीघाट–भुरीगाउँ सुरुङमार्गका लागि तीन लाख ९२ हजार बजेट छुट्याएको छ ।