‘ओलम्पिक डे’ मा काँक्रेविहार ‘हाफ म्याराथन’ हुने


कर्णाली । आगामी असार ८ गते ‘ओलम्पिक डे’का अवसरमा सुर्खेतमा ‘काँक्रेविहार राष्ट्रिय हाफ म्याराथन’ प्रतियोगिताको तेस्रो संस्करण हुने भएको छ । ‘मिड वेस्ट फिट्नेस सेन्टर’ले शनिबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन आयोजना गरी असार ८ गते प्रतियोगिता हुने जानकारी गराएको हो ।

कर्णाली प्रदेशको पर्यटकीय क्षेत्रको प्रवद्र्धन तथा प्रचारप्रसार गर्नुका साथै धावकलाई प्रतिस्पर्धाको अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको सेन्टरका पूर्वनिर्देशक प्रमोद हमालले जानकारी दिए ।

म्याराथुन प्रतियोगिताका निर्देशक राम वलीका अनुसार प्रतियोगितामा पुरुषतर्फ २१ किलोमिटर हाफ म्याराथन, महिलातर्फ १० किलोमिटर तथा विद्यार्थीतर्फ पाँच किलोमिटर समावेश गरिएको छ । पुरुषतर्फको २१ किमी हाफ म्याराथुनमा प्रथम हुनेले रु एक लाख २५ हजार, द्वितीयले रु ५० हजार र तृतीयले रु २५ हजार, चौथो र पाँचौँ हुनेलाई जनही रु १० हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

त्यसैगरी, महिलातर्फको १० किमीमा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमश रु ३०, रु २० र रु १० हजार तथा चौथो र पाँचौँ स्थान हासिल गर्नेलाई जनही रु पाँच÷पाँच हजार प्राप्त गर्नेछन् । विद्यार्थी समूहतर्फ पाँच किमीमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः रु १५, रु १० र रु पाँच हजार तथा चौथो र पाँचौँ हुनेलाई जनही रु दुई हजार पुरस्कारको व्यवस्था गरिएको प्रतियोगिताका निर्देशक वलीले जानकारी दिए ।

आयोजकका अनुसार प्रतियोगिताले कर्णाली प्रदेशका उदीयमान धावकलाई राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्नाका साथै प्रदेशको पर्यटन प्रवद्र्धनमा समेत महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ । उक्त प्रतियोगिताका लागि कर्णाली प्रदेश खेलकुद विकास परिषद् सुर्खेतले १० लाख आर्थिक सहयोग गरेको छ ।