युवा आन्दोलन विस्तार गर्दै कक्रोच जनता पार्टी


नयाँदिल्ली । भारतमा सामाजिक सञ्जालमार्फत तीव्र रूपमा लोकप्रिय बनेको कक्रोच जनता पार्टी (सिजेपी) ले बेरोजगारी, शिक्षा प्रणालीका कमजोरी र सरकारी जवाफदेहिताका मुद्दालाई केन्द्रमा राख्दै राष्ट्रव्यापी युवा विरोध अभियान सुरु गरेको छ ।

अभियानको सुरुआतस्वरूप बिहीबार पश्चिमी भारतीय सहर पुणेमा सयौँ विद्यार्थी र युवा समर्थकहरू भेला भएका थिए र यस कार्यक्रमले पछिल्ला दिनमा तीव्र गतिमा फैलिरहेको युवा आन्दोलनलाई थप ऊर्जा र गति प्रदान गरेको छ ।

गत साता नयाँदिल्लीमा पहिलो ठूलो सडक प्रदर्शन गरेको सिजेपीले यसपटक सावित्रीबाई फुले पुणे विश्वविद्यालय परिसरमा र्याली आयोजना गरेको हो । प्रदर्शनकारीहरूले विभिन्न सार्वजनिक परीक्षामा देखिएका अनियमितता, बारम्बार हुने प्रश्नपत्र चुहावट तथा शिक्षा क्षेत्रमा देखिएको व्यवस्थापकीय कमजोरीको विरोध गर्दै शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरेका छन् ।

राजनीतिक सञ्चार रणनीतिकार तथा बोस्टन विश्वविद्यालयका विद्यार्थी अभिजीत डिप्केले र्यालीलाई सम्बोधन गर्दै पुणेको कार्यक्रम केवल सुरुवात मात्र भएको बताए । उनले बिहीबारदेखि देशव्यापी अभियान औपचारिक रूपमा सुरु भएको घोषणा गर्दै आगामी दिनमा भारतका अन्य सहरहरूमा पनि विरोध कार्यक्रम विस्तार गरिने जानकारी दिए । उनले शिक्षामन्त्रीले राजीनामा नदिए समर्थकहरू यही महिनाको अन्त्यतिर पुनः नयाँदिल्लीमा ठूलो प्रदर्शनका लागि जुट्ने चेतावनीसमेत दिए ।

‘सरकारले युवाहरूलाई बेवास्ता गर्न सक्दैन’, अमेरिकाबाट हालै भारत फर्किएर आन्दोलनको नेतृत्व गरिरहनुभएका डिप्केले पत्रकारहरूसँग भने ।
यो आन्दोलनको सुरुआत गत मे महिनामा सर्वोच्च अदालतका न्यायाधीश सूर्य कान्तले केही बेरोजगार युवालाई ‘कक्रोच’ सँग तुलना गरेको टिप्पणीपछि भएको थियो । उक्त अभिव्यक्तिले सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया निम्त्याएको थियो ।

तर आन्दोलनका समर्थकहरूले त्यस शब्दलाई अपमानको रूपमा नभई, कठिन परिस्थितिमा पनि बाँच्न सक्ने क्षमता र लचकताको प्रतीकका रूपमा ग्रहण गरे । त्यसपछि ‘कक्रोच’ आन्दोलनको पहिचान बनेको छ र समूहले इन्स्टाग्राममा मात्र दुई करोड २० लाखभन्दा बढी अनुयायी आकर्षित गर्न सफल भएको छ ।

सुरुमा एउटा टिप्पणीविरुद्धको प्रतिवादका रूपमा देखिएको आन्दोलन अहिले बेरोजगारी, बढ्दो जीवनयापन खर्च, शिक्षा प्रणालीका समस्या, भ्रष्टाचार तथा सरकारी जवाफदेहितासम्बन्धी व्यापक असन्तुष्टिको आवाजका रूपमा विकसित भएको छ । सिजेपीले व्यङ्ग्य, आत्म–आलोचनात्मक हास्य र राजनीतिक टिप्पणीलाई संयोजन गरेर युवामाझ आफ्नो प्रभाव विस्तार गरिरहेको छ ।

समर्थकहरू मजाककै शैलीमा आफूलाई बेरोजगार, लामो समय अनलाइन बस्ने र अवसरको खोजीमा रहेका युवा भनेर चिनाउँछन् । सामाजिक सञ्जालमा सार्वजनिक गरिएका भिडियो, मीम र व्यङ्ग्यात्मक सामग्रीहरूले बेरोजगारी, भ्रष्टाचार तथा राजनीतिक निष्क्रियताको आलोचना गर्दै लाखौँ दर्शकको ध्यान तानेका छन् । यस्तै, सिजेपीसँग सम्बन्धित वा त्यसबाट प्रेरित धेरै प्यारोडी खाताहरूले पनि कक्रोचलाई व्यङ्ग्यात्मक राजनीतिक प्रतीकका रूपमा प्रयोग गरिरहेका छन् ।

पुणेबाट सुरु भएको पछिल्लो अभियानले भारतका युवाहरूबीच बढ्दो असन्तुष्टिलाई सङ्गठित राजनीतिक अभिव्यक्तिमा रूपान्तरण गर्ने प्रयास गरिरहेको विश्लेषण गरिएको छ । आन्दोलनले आगामी दिनमा देशका अन्य प्रमुख सहरहरूमा कस्तो प्रभाव पार्छ भन्ने विषयलाई राजनीतिक वृत्तले चासोका साथ हेरिरहेको छ ।