करका दर हेरफेर अर्थमन्त्रीबाट प्रक्रिया मिचेर गरिएको अपराध हो, संसदीय छानबिन हुनुपर्छः वर्षमान पुन


काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गरेको छ । शुक्रबारको प्रतिनिधिसभा बैठकमा नेकपाका सांसद एवं पूर्वअर्थमन्त्री वर्षमा पुनले अर्थमन्त्रीले संसदलाई हेप्ने गरी अभिव्यक्ति दिएको भन्दै छानबिनको माग गरेका हुन् ।

उनले पुराना दलले ६७ वटा हेरफेर गरेकोमा आफूले ७ वटामा हेरफेर गरेँ भन्ने हिसाबले मन्त्री वाग्लेले बोलेको भन्दै आपत्ति जनाए । उनले भने, ‘सात वटा होस् वा ७३ वटा, यदि प्रक्रिया मिचेर गरिएको हो भने त्यो अपराध हो । मेरो बारेमा पनि छानबिन होस् । अहिलेको पनि होस् ।’

उनले अर्थमन्त्रीले सात वटा करका दर परिवर्तन गरेको भन्ने आफैंले स्वीकारेकाले अब यसको निष्पक्ष छानबिन हुनुपर्ने बताए । पुनले अर्थमन्त्रीलाई आफ्नो दलले बजेटको विषयमा शंकाको लाभ दिए पनि वाग्लेले आर्थिक अपराध गरेको आरोप लगाए ।

उनले भने, ‘हिजो संसद्मा जसरी अर्थमन्त्रीले जवाफ दिनुभयो, त्यसले संसद्, समितिको अबमूल्यन भएको छ। धाकधम्की दिने कोसिस उहाँले गर्नु भएको छ, यो खेदजनक छ ।’ उनले बजेटको विषयमा सांसदले उठाएका विषय आरोप मात्रै नहुने बताए ।

यसैगरी उनले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति संसदको अभिलेखबाट हट्नुपर्ने बताए । उनले भने, ‘जेठ १७ गते सम्मानिय प्रधानमन्त्री ज्युले राष्ट्रिय स्वाधिनता, सिमा रक्षा र भौगोलिक अखण्डतासँग सम्बन्धित विषयमा व्यक्त गरेको विचारबारे हामीले पटक पटक संसदमा विषय राखिसकेका छौं । परराष्ट्रमन्त्रीज्यूले स्पष्टिकरण दिने प्रयास गर्नुभयो । त्यो पर्याप्त छैन । त्यसबारे प्रधानमन्त्रीज्यूले नै जवाफ दिनुपर्छ । संसदको अभिलेखबाट नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने अभिव्यक्ति हट्नुपर्छ भन्ने कुरा राख्दै आएका छौं । यसमा सम्मानीय सभामुखज्यूको रुलिङ होस् ।’