बालेन, सुकुम्बासी र परपीडनको मनोविज्ञान


डा. जीवन क्षेत्री

केही दिन अगाडि विश्व वातावरण दिवस थियो । बिहानै नारायणी नदी किनारको नगरवनमा हिंड्ने कार्यक्रम थियो । सडक छाडेर नगरवनतिर झर्ने बेला छेउमै बसेर एक महिलाले चाखपूर्वक हामीलाई हेर्दै थिइन् । निस्कने बेला पनि उसैगरी हेरेको देखेपछि मैले कुराकानी शुरु गरें । ’बालेन आउन लागेका हुन् र?’ उनले सोधिन् । ’हैन, किन सोध्नुभयो?’ मैले प्रतिप्रश्न गरें ।
धुस्राफुस्रा कपडा लगाएकी महिला सुकुम्बासी बस्तीकी पो हुन् कि ? घर भत्काइदेलान् भन्ने डरले पो बालेनबारे सोधेकी हुन् कि? मैले अनुमान लगाएँ । तर कुरैकुरामा उनले भनिने्, ’म त रविलाई पनि भेटेकी छु । घण्टीलाई भोट दिएको हो ।’ कुरा बुझ्दा उनी बालेनका बारेमा डरले हैन आत्मीयताका कारण सोधखोज गरेकी रहेछिन् । कुरा यहाँसम्म एकदम ठिक छ । एउटा आम नागरिकले देशको प्रधानमन्त्रीबारे यस्तो भरोसा राख्नु स्वभाविक हो ।

तर त्यसपछि महिलाले जे भनिन्, त्यो कुरा मलाई अझै बिझाइरहेको छ र सधैंभरिका लागि बिझाउनेछ । लगत्तै मैले आफैँ विषयलाई सुकुम्बासीको विषयतिर मोडें । मलाई त्यो विषयलाई लिएर उनको मनोविज्ञान के थियो त्यो जान्नु थियो ।
उनले भनिन्, ’सुकुम्बासीका घर भत्काएर बालेनले ठिक गर्यो नि । यहाँ पनि अलि पर केही घर भत्काएका थिए तर अरु धेरै बाँकी नै छन् ।’ उनले मुख फोरिनन् तर बचेका सुकुम्बासीका घर पनि भत्काउनुपर्छ भन्ने उनको आशय थियो । ठ्याक्कै त्यही हाराहारी कीर्तिपुरको होल्डिंग सेन्टरमा भेषराज दर्जीको मृत्यु भएको समाचार आयो । रविन तामाङ र इन्द्रबहादुर राईले त उहिल्यै ज्यान गुमाइसकेका थिए ।

तर अहिलेको सत्ताको प्रोपागाण्डा संयन्त्र यति सशक्त छ कि ती महिलाजस्ता आममानिसका सञ्जालहरुबाट ती नामहरु गुमनाम छन् । बालेनको जयजयकार यस्तो छ कि तिनलाई लाग्छ सरकारले जे गर्छ राम्रो मात्रै गर्छ । उनीजस्तै धुस्राफुस्रा लुगा लगाउने छिमेकीको घर ऐलानी जग्गामा छ । उनको आफ्नो घर नम्बरी जग्गामा छ । यत्ति कारणले उनलाई लाग्छ कि सरकारले छिमेकीको घर धडाधड भत्काइदिनुपर्छ । कारणः आफ्नो घर भत्किंदैन भन्नेमा उनी विश्वस्त छन् ।

हाम्रो ध्यानको ठूलो हिस्सा स्वभावतः सत्ता र शक्तिमा हुनेहरुतिर हुनुपर्छ । तर आम मनोविज्ञान कसरी सिर्जना र विकास भइरहेको छ भन्ने कुरामा ध्यान दिनु पनि उत्तिकै आवश्यक छ । जब समाजको पिंधमा हुनेहरु सत्तालाई प्रश्न सोध्न हैन कि आफूभन्दा तलकालाई लात हानेर झन् तल पुर्याउने परपीडनमा रमाउन थाल्छन्, समाजको ओरालो यात्रा टाढा हुँदैन ।