अमेरिकी हेलिकोप्टर खसालेपछि इरानमाथि अमेरिकी आक्रमण


वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले होर्मुज जलडमरूमध्यमा अमेरिकी हेलिकोप्टर खसालेको आरोप लगाएपछि अमेरिकाले इरानमाथि सैन्य आक्रमण गरेको जनाएको छ ।

अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) का अनुसार मंगलबार साँझ अमेरिकी समयअनुसार ५ बजे इरानविरुद्ध आक्रमण सुरु गरिएको हो । सेन्टकमले उक्त कारबाहीलाई ‘इरानी आक्रामकताप्रतिको प्रतिक्रिया’ भनेको छ ।

फारसी खाडी र होर्मुज जलडमरूमध्य आसपास विस्फोटका आवाज सुनिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । इरानी सरकारी सञ्चारमाध्यमका अनुसार बन्दर अब्बास, केश्म र सिरिक क्षेत्रमा विस्फोट भएको थियो ।

सेन्टकमले खसालिएको अमेरिकी अपाचे हेलिकोप्टरका दुई चालक दल सदस्यलाई समुद्री ड्रोनमार्फत उद्धार गरिएको जनाएको छ । ‘दुवै पाइलट सुरक्षित छन् र घाइते भएका छैनन्,’ ट्रम्पले ट्रुथ सोसलमार्फत बताएका छन् ।

अमेरिकी अधिकारीहरूका अनुसार इरानले ड्रोन प्रयोग गरेर हेलिकोप्टरमाथि आक्रमण गरेको थियो । तर उक्त आक्रमण जानाजानी गरिएको हो वा होइन भन्ने स्पष्ट नभएको बताइएको छ ।

घटनापछि इरानका विदेशमन्त्रीले अमेरिकालाई चेतावनी दिँदै कुनै पनि आक्रमण वा धम्कीको जवाफ दिइने बताएका छन् । यसैबीच, इजरायलले दक्षिणी लेबनानमा गरेको आक्रमणपछि क्षेत्रीय तनाव थप बढेको छ । इरानले यसअघि लेबनानमा इजरायली आक्रमण भए थप प्रतिशोधात्मक कारबाही हुने चेतावनी दिएको थियो ।