दुई अभियोगबाट रवि लामिछानेलाई धमाधम उन्मुक्ति


वीरगंज । जिल्ला अदालत पर्साले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध दर्ता गरिएको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग संशोधन गर्न अनुमति दिएको छ

। अदालतका न्यायाधीश मोहन सुवेदीको एकल इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ अनुसार लामिछानेसहितका प्रतिवादीमाथि लगाइएको संगठित अपराधको अभियोग हटाउन आदेश दिएको हो ।

सहकारी ठगीसम्बन्धी अभियोग भने यथावत राखिएको छ । जिल्ला सरकारी वकिल कार्यालय, पर्साले संगठित अपराधसम्बन्धी अभियोग संशोधनका लागि निवेदन दर्ता गरेको थियो । महान्यायाधिवक्ताको कार्यालयबाट स्वीकृति प्राप्त भएपछि दायर गरिएको उक्त निवेदन कानुनसम्मत रहेको ठहर गर्दै अदालतले संशोधनको अनुमति दिएको हो ।

विशाल सहनी गोढीलगायतको जाहेरीका आधारमा नेपाल सरकार वादी र लामिछानेसहितका व्यक्तिहरू प्रतिवादी रहेको सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा अभियोगपत्र संशोधनको प्रक्रिया अघि बढाइएको थियो । यसअघि कास्की जिल्ला अदालतले पनि लामिछानेविरुद्ध लगाइएको सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधसम्बन्धी अभियोग हटाउन अनुमति दिएको थियो ।