अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन गर्न राप्रपाको माग


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिनको माग गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा शाहीले करका दर हेरफेरमा अर्थमन्त्रीको संलग्नता रहेकाले संसदीय छानबिन गर्न माग गरेका हुन् ।

उनले संसदमा प्रस्तुत गरेको बजेटमाथि छेडछाड गरेको र करका दर चुहावट गरेकाले अर्थमन्त्रीमाथि छानबिन हुनुपर्ने बताए । उनले भने, ‘करका दर हेरफेरबारे कसलाई थाहा हुन्छ ? सचिवलाई पनि थाहा हुँदैन । अर्थमन्त्री र अर्थमन्त्रीज्यूले तोकेका व्यक्तिहरुलाई मात्रै थाहा हुन्छ । सूचना लिक भएर ७५३ वटा बीवाइडी गाडी कोरला नाकाबाट १४ गते भन्सार पास हुन्छन्, २० गते गाडी आउँछ । अनि सरकारले छानविन समिति बनाउँछ । आफैं छानबिन समिति बनाउने र कर्मचारीलाई डाम्न खोज्ने ?’

करका दर चुहावट गर्नेलाई राजद्रोहको मुद्दा चल्नुपर्ने शाहीले बताए । उनले यसका विषयमा सरकारले नभई संसदले छानबिन समिति बनाउनुपर्ने बताए । उनले भने, ‘बजेट बन्दाखेरि बजेटका करका दर हेरफेर गर्ने र कर कति हुन्छ भन्ने कुरा नितान्त अर्थमन्त्री बाहेक कसैलाई थाहा हुँदैन । यदि त्यस्तो अपराध गरेको ठहरिएमा राजद्रोहको मुद्दा चल्ने नेपालका कानुनी व्यवस्था छ ।’