आन्तरिक राजनीतिमा बलियो हुन भारतको आशिर्वाद खोज्ने मूर्खता गर्नु हुँदैन


-डा. सूर्यराज आचार्य

नेपाल–भारत बीचको सम्बन्ध यति धेरै समस्याग्रस्त हुनु नपर्ने हो । ऐतिहासिक, सांस्कृतिक, धार्मिक, राजनीतिक, सामाजिक तथा आर्थिक हिसाबले नेपाल–भारत जस्तो घनिष्टता भएका छिमेकी मुलुक विश्वमै विरलै होलान्। सरकार बीचको सम्बन्धमा तलमाथि हुँदा पनि जनस्तरको सम्बन्धमा सौहार्दता भने कायमै छ। नेपाल–भारत बीचको सम्बन्ध ‘रेजिलिएन्ट’ छ नै। तथापि सरकार बीचको सम्बन्धमा देखिएको निरन्तरको चिसोपन कायमै रहेमा ’रेजिलिएन्स’ पनि खिइन सक्ने जोखिम बढ्दैछ।
नेपाल–भारत बीचको सम्बन्धमा अपेक्षित सुधार नहुनमा मूलतः दुईवटा तत्व जिम्मेवार छन्ः भारत सरकार—मूलतः कर्मचारी तथा गुप्तचर संयन्त्र — को नेपाललाई हेर्ने औपनिवेशिक शैलीको हेपाहा दृष्टि, र नेपाली राजनीतिक वृत्तको भारतबाट आशीर्वाद थाप्ने प्रवृत्ति। यी दुवै पक्षमा तात्विक सुधार नहुँदासम्म कूटनीतिक भेटघाटका रमझमको कुनै अर्थ रहने छैन।

भारत ब्रिटिश साम्राज्यको उपनिवेश रहँदा पनि नेपालले ब्रिटिश साम्राज्यसँग लडेर–भिडेर आफ्नो स्वाभिमान र सार्वभौमसत्ता जोगाएको इतिहास छ। स्वतन्त्रताको लगत्तै भारतले भने नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता र विस्तार हुँदै गरेको अन्तर्राष्ट्रिय सम्बन्धलाई नरुचाएको विभिन्न घटनाले पुष्टि गर्छ। राजा महेन्द्र र वीरेन्द्रको कालमा पनि भारतले नेपालको दरबारलाई नरुचाउनुको कारण दरबारले राष्ट्रियताको सवालमा भारतीय शर्त अनुसारको सम्झौता नगर्नु नै हो।

बहुदलपछि दलका नेताहरू भारतका लागि निकै सहज भए। नेताका सन्तान र आफन्तलाई केही सिट छात्रवृत्ति र अन्य व्यक्तिगत सहयोगबाट नै भारतले आफ्नो काम फत्ते गर्न सहज भयो। तर यस्तो शैली दिगो हुने वाला थिएन। दलका नेताहरूसँग पनि भारतको टक्करका घटना भए। समयक्रममा भारतले चाहेको जस्तो भारतीय हैकम नेपाली समाजलाई स्वीकार्य हुने कुरै भएन।

अब नयाँ पुस्ताको दिमागमा भारतसँगको ऐतिहासिक, सांस्कृतिक तथा रोटी–बेटीको सम्बन्ध भन्दा विनाशकारी भूकम्पको बज्रपात परेकाबेला भारतको नाकाबन्दीको पीडा बिझेको छ। पुराना दलका नेता समेत नेपाली समाजको राष्ट्रियताको भावनालाई कुल्चेर भारतको हैकमवादी व्यवहार सामु घुँडा टेक्न सहज थिएन। यस्तै परिवेशको पेचिलो उल्झनमा जेलिरहेको नेपाल–भारत सम्बन्ध चुच्चे नक्साको प्रकरणपछि झनै जटिलतामा फसेको छ।

नेपाल–भारत बीचको सम्बन्धमा यस्तो दरार कायम हुनु दुवैपक्षको हितमा छैन। सम्बन्ध सुधारका लागि अब भुइँमा पुगेर कूटनीतिक पहल गर्न जरुरी छ। नेपाल र भारतले एक–अर्काबाट के अपेक्षा राखेका हुन् ? दुवै पक्ष प्रष्ट हुन जरुरी छ।
भारत विश्वको महाशक्ति बन्ने आकांक्षा राखेको ठूलो देश हो। त्यसैले भारतको सुरक्षा चासोप्रति नेपाल संवेदनशील हुनै पर्छ। तर सुरक्षा चासोको नाममा नेपालको विकासका हरेक एजेन्डामा भाँजो हाल्ने काम भारतले गर्नु हुँदैन। नेपालको सार्वभौमसत्तामा आँच आउने भारतको प्रस्ताव नमान्दा पटक–पटकको नाकाबन्दी, व्यापार–पारवहनमा निरन्तरको किचलो, हवाई रुटको अनुमतिमा तगारो, सीमाको किचलो जस्ता कुरामा भारतको अर्घेल्याईं संसारका छिमेकहरूमा विरलै पाइन्छ। हवाई रुटको प्रयोगमा भारतले नेपाललाई गरेको व्यवहार मलेशिया र इन्डोनेशियाले सिंगापुरलाई गरेको भए सम्भवतः सिंगापुरको विकास निकै कठिन हुन सक्थ्यो।

नेपाल–भारत सम्बन्ध सुधारमा नेपाली पक्षको पनि जिम्मेवारी छ। खासगरी नेपालले नेपाल–भारत सम्बन्धको राष्ट्रिय दृष्टिकोण भारतसँग प्रष्ट रूपमा राख्न सक्नुपर्छ। अब पनि नेपालका दलका नेताले आन्तरिक राजनीतिमा बलियो हुन भारतको आशिर्वाद खोज्ने मूर्खता गर्नु हुँदैन, र भारतले पनि यस्तो प्रवृत्तिलाई प्रोत्साहन गर्नु हुँदैन।

नेपालको सरकारपक्षले अब भारतबाट एउटा कुराको प्रष्टता खोज्नु अत्यन्त जरुरी छ—भारतलाई नेपालको निःशर्त स्वतन्त्रता र सार्वभौमसत्ता स्वीकार्य छ कि छैन ? यो प्रश्न सुल्टिने बित्तिकै तमाम समस्याको हल सहज हुन्छ। तर अब पनि नेपाललाई औपनिवेशिक चश्माले हेर्ने र ’मुठ्ठीको माखो’ ठान्ने भारतको नियत हो भने सम्बन्ध सुधारका जतिसुकै आकर्षक कूटनीतिक झाँकीले पनि सम्बन्ध सुध्रिने छैन, झन् बिग्रिने बाटोमा जाने जोखिम छ।

दक्षिण एशियाका सबै छिमेकीसँग आफ्नो सम्बन्धमा किन जटिलता छ भनेर भारतीय नेता र कूटनीतिज्ञले ठण्डा दिमागले सोच्ने बेला आएको छ। नत्र भारतप्रति ‘बाई डिफल्ट’ अपार सद्भाव र स्नेह रहेको मुलुक हो नेपाल। खासगरी भारतको कर्मचारी संयन्त्रले यो वास्तविकतालाई मनन गर्ने हो भने अहिलेको चिसो सम्बन्धलाई न्यानो बनाउन कठिन छैन। यो विषयमा नेपालको नयाँ सरकारका लागि पनि ठूलो अवसर छ। साथै पुराना दलका नेताले गरेका पुरानै गल्ती दोहोर्याउने जोखिम पनि छ। भारत–नेपाल दुवै पक्षमा विवेकले काम गरोस्, नयाँ विश्वास कायम होस्, र नमुना छिमेकी सम्बन्ध बनोस्।