पश्चिमी र मध्य इरानका सैन्य लक्ष्यमा इजरायली आक्रमण


दुबई । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थप आक्रमण नगर्न आग्रह गरेको केही घण्टामै इजरायलले सोमबार पश्चिमी र मध्य इरानका सैन्य लक्ष्यमा नयाँ आक्रमण गरेको जनाएको छ।

यसअघि ट्रम्पले इजरायल र इरानबीच भएका नयाँ आक्रमणहरूले तेहरानसँग जारी शान्ति वार्तामा असर नपार्ने बताएका थिए । उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई संकेत गर्दै ‘निर्णय मैले गर्छु, उनले होइन’ भनेका थिए।

ट्रम्पले इजरायललाई लेबनानमा आक्रमण रोक्न दबाब दिँदै आएका छन्, ताकि इरानसँगको व्यापक युद्ध अन्त्यका लागि कूटनीतिक पहललाई अघि बढाउन सकियोस् । तर, अमेरिकाले गत साता लेबनानका लागि युद्धविराम योजना घोषणा गरेपछि पनि इजरायलले आइतबार बेरुत क्षेत्रमा आक्रमण गरेको थियो।

यसको प्रतिकारस्वरूप इरानले इजरायली लक्ष्यतर्फ मिसाइल प्रहार गरेको जनाएको छ, जसले अमेरिका–इरान शान्ति वार्तामा थप तनाव सिर्जना गरेको छ। यद्यपि ट्रम्पले युद्ध अन्त्य गर्ने सहमति अझै सम्भव रहेको बताएका छन्।

‘यसले सम्झौतामा कुनै असर पार्ने छैन,’ ट्रम्पले फाइनान्सियल टाइम्ससँग भने। ‘सबै निर्णय मैले गर्छु। उनले निर्णय गर्दैनन्।’ इरानको रिभोलुसनरी गाड्र्सले इजरायलले हवाईमार्फत प्रक्षेपण गरिने ब्यालेस्टिक मिसाइल प्रयोग गरेर इरानभित्र आक्रमण गरेको जनाएको छ।

नयाँ तनावपछि सोमबार प्रारम्भिक कारोबारमा तेलको मूल्य ३ प्रतिशतभन्दा बढीले बढेको छ। ब्रेन्ट क्रुडको मूल्य पुनः प्रति ब्यारेल ९६ डलरमाथि पुगेको छ।

इरानी रिभोलुसनरी गाड्र्सले नाजरेथ नजिकको रामत डेविड एयर बेसलाई निशाना बनाइएको बताएका छन् । इजरायली सेनाले इरानबाट प्रहार गरिएका मिसाइलहरू पहिचान गरिएको र आफ्ना प्रतिरक्षा प्रणालीले ती अवरोध गरेको जनाएको छ ।

न्यु जर्सीस्थित आफ्नो गल्फ क्लबमा रहेका ट्रम्प र नेतान्याहूबीच आइतबार करिब आधा घण्टा फोन वार्ता भएको एक इजरायली अधिकारीले बताएका छन्। अमेरिकी समाचार संस्था एक्सियोसका अनुसार ट्रम्पले नेतान्याहूलाई ‘हामी सम्झौताबाट निकै नजिक छौं’ भन्दै थप आक्रमण रोक्न आग्रह गरेका थिए।

अमेरिका–इरान वार्ता सुरु भएयता पनि इजरायलले लेबनानमा हिज्बुल्लाहविरुद्ध आक्रमण जारी राखेको छ। इजरायली अधिकारीहरूले यो द्वन्द्वलाई इरानसँगको युद्धविरामभन्दा अलग रूपमा हेर्नुपर्ने बताउँदै आएका छन्।

इरानका प्रमुख वार्ताकार तथा संसद् सभामुख मोहम्मद बाकेर कालिबाफले अमेरिकी सैन्य अड्डा र इजरायली सम्पत्तिहरू ‘वैध निशाना’ भएको बताएका छन्। उनले लेबनानसम्बन्धी सहमति उल्लंघनलाई त्यसको कारण बताएका हुन्।